काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन्।
फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहमा बोल्दै उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको छलफलपछि घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिमा आवश्यक सुधार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने तथा देशमा सकारात्मक परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले सरकारले महत्वाकांक्षी आर्थिक सुधार कार्यक्रमहरू सार्वजनिक गरेको छ। उनले २०४८ सालपछि पहिलोपटक यति व्यापक दायराका आर्थिक सुधारका कार्यक्रम घोषणा गरिएको दाबी गरे।
अर्थमन्त्री वाग्लेले सडक तथा अन्य पूर्वाधार क्षेत्रमा वर्षौंदेखि अलपत्र रहेका आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको बताए। नेपाली जनताको लगानी फसेका आयोजनाहरूलाई निश्चित समयसीमाभित्र टुंग्याउने योजनासहित सरकार अघि बढिरहेको उनको भनाइ छ।
उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग लगायतका राष्ट्रिय गौरवका आयोजना तथा सहरी विकासअन्तर्गतका अपुरा परियोजनाहरू एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।
राजनीतिक श्रेय लिने प्रतिस्पर्धाभन्दा माथि उठेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर अलपत्र आयोजनाहरू सम्पन्न गर्ने प्रक्रियामा सरकार केन्द्रित रहेको बताए।
प्रतिक्रिया