मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्धारा सुझाव माग, तरलता र महँगी मुख्य चुनौती

शुक्रबार, २२ जेठ २०८३, १३ : ४५

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था बमोजिम सुझाव माग गरिएको हो ।

इच्छुक आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । सुझाव पठाउनको लागि इमेल ठेगाना [email protected] रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि चालु आर्थिक वर्षको मौद्रिक नीति गत असार २७ गते सार्वजनिक गरिएको थियो भने आगामी वर्षको नीति साउन १५ गतेभित्र सार्वजनिक गरिनेछ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा न्यून कर्जा प्रवाह र बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । त्यस्तै बढ्दो महँगी र घट्दो ब्याजदरबीच सन्तुलन कायम गर्नु अर्को चुनौती बनेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने औसत अधिकतम ब्याजदर ४.४०२५ प्रतिशत रहेको छ भने चैत महिनाको उपभोक्ता मुद्रास्फीति दर ४.४७ प्रतिशत रहेको छ । यसले ब्याजदर र मूल्यवृद्धिबीचको अन्तर संकुचित भएको देखाउँछ, जसले निक्षेपकर्ताको वास्तविक प्रतिफलमा दबाब सिर्जना गरेको छ ।

 
शुक्रबार, २२ जेठ २०८३, १३ : ४५

प्रतिक्रिया