काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति मिश्रित प्रतिक्रिया दिएको छ। सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने तथा कर संरचनामा परिवर्तन गर्ने निर्णयले सवारी साधनको मूल्य बढ्न सक्ने नाडाको निष्कर्ष छ।
नाडाले सवारी साधनमा थप करको भार नबढाउने अपेक्षा राख्दै आएको उल्लेख गर्दै बजेटमार्फत मोटरको पिक पावरको सट्टा कारोबार मूल्यका आधारमा महसुल निर्धारण गर्ने व्यवस्था गरिएकाले अधिकांश सवारी साधन महँगिने अवस्था सिर्जना हुन सक्ने जनाएको छ।
संस्थाका अनुसार विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने सरकारी नीति रहँदै आएको अवस्थामा मूल्यका आधारमा कर निर्धारण गर्ने र विभिन्न शीर्षकमा अतिरिक्त शुल्क लगाउने व्यवस्थाले बजारमा प्रत्यक्ष असर पार्ने देखिन्छ। सवारी साधनको मूल्य स्थिर राख्न नेपाली रुपैयाँको सट्टा अमेरिकी डलरका आधारमा कर निर्धारण गर्नु व्यावहारिक हुने नाडाको सुझाव छ।
यद्यपि, बजेटमार्फत सडक पूर्वाधार निर्माणका लागि ठूलो रकम विनियोजन गरिनु सकारात्मक पक्ष भएको नाडाले जनाएको छ। अधुरा सडक तथा राजमार्ग समयमै सम्पन्न गर्ने सरकारी प्रतिबद्धताले पूर्वाधार विकासलाई गति दिने र त्यसको सकारात्मक प्रभाव अटोमोबाइल क्षेत्रमा पनि पर्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
नाडाले बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके देशको अर्थतन्त्र चलायमान बन्ने उल्लेख गर्दै समग्रमा बजेट सन्तुलित र भविष्य निर्माणमुखी रहेको प्रतिक्रिया दिएको छ।
प्रतिक्रिया