कर्जा माग सुस्त

बैंकको नाफा १९ प्रतिशतले बढ्दा वित्तीय क्षेत्रको योगदानमा सुधारको संकेत, १३ खर्ब बढी ऋणयोग्य रकम

सोमबार, २५ जेठ २०८३, १० : ५७

काठमाडौं- बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता रहे पनि चालु आर्थिक वर्षमा वित्तीय तथा बिमा क्षेत्र ९.१६ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा प्रवाह बढ्नुका साथै जीवन तथा निर्जीवन बिमाको नवीकरण शुल्कबाट प्रिमियम संकलनमा वृद्धि भएकाले गत वर्षको तुलनामा यस क्षेत्रको वृद्धिदरमा सुधार हुने अनुमान गरिएको हो।

कार्यालयका अनुसार सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, धितोपत्र व्यवसायी तथा मर्चेन्ट बैंकहरूको आम्दानीमा वृद्धि हुँदा वित्तीय तथा बिमा क्षेत्रको कुल मूल्य अभिवृद्धिमा समेत सकारात्मक प्रभाव परेको छ। गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ७.५५ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार कर्जा विस्तार अपेक्षाअनुसार हुन नसके पनि ऋण असुली बढ्नु, खराब कर्जा घट्नु तथा डिजिटल कारोबार, रेमिट्यान्स, सेवा शुल्क र ट्रेजरी बिलबाट हुने गैरब्याज आम्दानी बढ्दा बैंकहरूको खुद नाफा करिब १९ प्रतिशतले वृद्धि भएको छ। यसले वित्तीय क्षेत्रको समग्र प्रदर्शनमा सुधार ल्याएको उनले बताए।

यद्यपि वित्तीय क्षेत्रको वृद्धिदर बढ्ने अनुमान गरिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यसको योगदान भने ६.७८ प्रतिशतबाट घटेर ६.७२ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। हाल बैंकिङ प्रणालीमा १३ खर्ब रुपैयाँभन्दा बढी ऋणयोग्य रकम थुप्रिएको छ। सरकार र निजी क्षेत्रले लगानी विस्तार गर्न नसक्दा पछिल्ला तीन वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या कायम रहेको छ।

 
सोमबार, २५ जेठ २०८३, १० : ५७

प्रतिक्रिया