मुस्ताङ- मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व संकलन गरेको छ।
गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व संकलन भएको हो।
नेपाल–चीन उत्तरी कोरला नाका हुँदै चीनबाट नेपाल पैठारी गरिएका माल वस्तुबाट रु १३ अर्ब ८७ करोड ७८ लाख भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिए।
उनका अनुसार चीनबाट कोरला नाका हुँदै नेपाल पैठारी गरिएका विद्युतीय सवारी (इभी) गाडीलगायत चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामान, इलेक्ट्रोनिक सामानलगायत सामानको पैठारीबापत उक्त भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुँडालले उल्लेख गरे।
यसैगरी, नेपालबाट कोरला नाका हुँदै चीनतर्फ निकासी गरिएका माल वस्तुबाट रु २० करोड ५५ लाख ७४ हजार भन्सार राजस्व सङ्कलन भएको प्रमुख चूँडालको भनाइ छ।
नेपालबाट हस्तकलाका सामान र नेपाली उत्पादनलगायत सामग्री चीनतर्फ निकासी भएको हो। नेपाल–चीन उत्तरी कोरला नाकाबाट गत भदौदेखि १६ जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
चीनबाट कोरला नाका हुँदै भन्सार जाँच पास भई नेपाल भित्रिएका विद्युतीय सवारी (इभी) गाडीको पैठारीबापत रु छ अर्ब ७६ करोड दुई लाख भन्सार राजस्व संकलन भएको हो। पछिल्लो समय गत जेठको दोस्रो साता चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रिया विवादमा परेको छ।
कोरला नाकाबाट नेपाल भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँच पास भइसकेको जनाइ पनि सरकारले यसलाई अनुसन्धानको घेरामा तानेको हो। सरकारले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत रहे/नरहेको यकिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
उक्त समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम र कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विद्युतीय सवारीसाधनको अनुगमन गर्ने कार्य सम्पन्न गरिसकेको छ।
प्रतिक्रिया