अन्तर्राष्ट्रिय लक्जरी होटेल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रनु सुखद : अर्थमन्त्री वाग्ले

मंगलबार, २६ जेठ २०८३, १० : ४१

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटेल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रनु सुखद भएको बताएका छन् । सोमबार (जेठ २५) अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटेल सञ्चालन गर्ने घोषणा गरिएको दोस्रो दिन उनीहरूबीच मन्त्रालयमा भेटघाट भएको हो । भेटमा अर्थमन्त्री वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई यहाँ व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यका गन्तव्यमा नेपाल थपिदिएकामा धन्यवाद दिए ।

द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिको गन्तव्य नेपाल बन्न सक्ने पनि उनले बताए । “तपाईंहरूको नयाँ परियोजना घोषणाले लगानीकर्ताका लागि नयाँ उत्साह थपेको छ । नेपालमा लगानी भित्र्याउन र विश्वका धनाढ्यहरूले अब नेपालको द रिट्च कार्लटनलाई आफ्नो गन्तव्य बनाउन सक्छन् भन्ने सोच विकास भएको छ,” उनले भने, “यसले नेपालको पर्यटनलाई अर्को उचाइ दिन सक्छ ।”

नयाँ सरकारले लगानीमैत्री वातावरणका निम्ति काम गरिरहेको उनले बताए । म्यारियट र द रिट्च कार्लटनलाई काठमाडौंबाहिर पनि व्यवसाय विस्तार गर्न उनले आग्रह गरे ।

मंगलबार, २६ जेठ २०८३, १० : ४१

प्रतिक्रिया