काठमाडौं– नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको आयोजनामा उपत्यकाभित्रका सुनचाँदी व्यवसायीहरूबीच आपसी एकता, सहकार्य तथा भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिने भएको छ ।
मञ्चका अनुसार, प्रतियोगिता आगामी जेठ ३० गते शनिबार ललितपुरस्थित नखिपोट फुटसल भिलेजमा सञ्चालन हुनेछ । प्रतियोगितामा उपत्यकाभित्र रहेका सुनचाँदी क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायिक संगठन तथा व्यवसायी प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
आयोजकले खेलकुदलाई मनोरञ्जनको माध्यम मात्र नभई व्यवसायीहरूबीच सम्बन्ध विस्तार गर्ने, अनुभव आदानप्रदान गर्ने तथा संगठनात्मक एकतालाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ । व्यवसायिक क्षेत्रमा देखिएका विभिन्न चुनौतीका बीच व्यवसायीहरूलाई एकै थलोमा ल्याई सकारात्मक वातावरण निर्माण गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
मञ्चका अध्यक्ष खेम तिरुवाका अनुसार, प्रतियोगिताले स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै व्यवसायीहरूबीच मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउनेछ । खेलमार्फत सहकार्य र समन्वय बढ्दै जाने तथा भावी दिनमा व्यवसायिक हितका विषयमा संयुक्त रूपमा अघि बढ्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष तिरुवाले प्रतियोगितालाई सुनचाँदी व्यवसायीहरूबीचको एकता, सद्भाव र सहकार्यको उत्सवका रूपमा सफल बनाउन आवश्यक सम्पूर्ण तयारी तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिएका छन् । साथै उनले सम्पूर्ण सम्बन्धित संघ–संस्था, व्यवसायी, शुभेच्छुक तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा उपस्थित भई सहभागी टोली तथा खेलाडीहरूलाई हौसला प्रदान गर्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया