७७४ इभी प्रकरण:

कोरला नाकाबाट जफत इभी गाडीले व्यापारिक घरानालाई तनाव, गाडी छुटाउन दौडधुपमा यमुना श्रेष्ठ

शुक्रबार, २९ जेठ २०८३, १४ : ५०

काठमाडौं– मुस्ताङको कोरला नाकाबाट जफत गरिएका ७७४ इभी गाडीमा नेपालका व्यापारिक घरानादेखि सरकारी अधिकारीहरू समेत तानिने देखिएको छ । विवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले बजेटको पूर्व सन्ध्यामा नेपाल भित्र्याएको इभी गाडी ल्याउन सरकारीदेखि भन्सार अधिकृतसम्मको साँठगाँठ देखिएको भन्दै छानबिन अघि बढाइएको बताइएको छ ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा इभी गाडीमा किलोवाटको आधारमा नभई मूल्यका आधारमा भन्सार लगाउने व्यवस्था गर्ने सूचना पाएपछि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले बजेट सार्वजनिक हुनु अगावै उक्त गाडी नेपाल भित्र्याएको थियो । अर्थ मन्त्रालयकै उच्च तहबाट करको सूचना पाएपछि साइमेक्स इन्कले गाडी बजेट सार्वजनिक हुनु अगावै सीमा नाका पार गराएको थियो ।

स्रोतका अनुसार, त्यसरी नेपाल भित्रिन लागेको इभी गाडीको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेपछि प्रधानमन्त्री बालेन्द्र शाहले सशस्त्र प्रहरी प्रमुखलाई गाडी पक्राउ गर्न ठाडो निर्देशन दिएका थिए । प्रधानमन्त्रीको ठाडो निर्देशन पाएपछि सशस्त्र प्रहरी प्रमुख नारायणदत्त पौडेलले मातहतका सशस्त्र प्रहरी गणलाई गाडी पक्राउ गर्न निर्देशन दिएका थिए । 

नेपालका लागि चिनियाँ विद्युतीय ब्रान्ड विवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्क प्रा.लि.ले ल्याएको उक्त विद्युतीय गाडी छुटाउन कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले दौडधुप बढाएकी छिन् ।

यसअघि पनि अघिल्लो वर्ष बजेट भाषणको पूर्व सन्ध्यामा साइमेक्स इन्कले ६ सयभन्दा बढी विद्युतीय गाडी नेपाल भित्र्याएपछि विवाद उत्पन्न भएको थियो । यस पटक ल्याइएका ७७६ विद्युतीय गाडीमध्ये ७७४ गाडी मुस्ताङबाट र २ वटा रसुवाबाट ल्याइएको पाइएको छ ।

यसै गरी, नेपाल उद्योग वाणिज्य महासंघका अञ्जन श्रेष्ठको काई कम्पनीको गाडी पनि ठूलो मात्रामा नेपाल भित्रिएको सूचना बाहिरिएको छ । उनले बिएमडब्लु र काई ब्रान्डका गाडी चीनबाट ल्याएर नेपालमा बिक्री गर्दै आएका छन् भने हुण्डाईका गाडी भारतबाट ल्याउने गरेका छन् । उनका ६० मध्ये ४० काई गाडी नेपाल भित्र्याइसके पनि विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

शुक्रबार, २९ जेठ २०८३, १४ : ५०

प्रतिक्रिया