काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलो घुन लागेको चनाको दाल, ११ किलो ओसिएको नेपाली बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको थियो। विभागको टोलीले ६ हजार ५६० रुपैयाँ बराबरका ती अखाद्य वस्तु नष्ट गरेको जनाएको छ।
उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको छ। त्यसैगरी, विभागले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ स्थित जय छुमा गणेश शुद्ध खानेपानी प्रालिलाई खरिद बिल नराखेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार शुक्रबार काठमाडौं उपत्यकाका १२ वटा फर्म तथा व्यापारिक संस्थाको अनुगमन गरिएको थियो।
प्रतिक्रिया