बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकिने, किसानलाई निर्णय गर्न सहज हुने

शनिबार, ३० जेठ २०८३, ११ : ४८

काठमाडौं- कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि नयाँ निर्देशिका जारी गर्दै बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको जनाएको छ।

मन्त्रालयका अनुसार सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गरिएको हो। उक्त निर्देशिका वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नयाँ व्यवस्थाअनुसार किसानले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्यको जानकारी पाउने भएकाले लागत, सम्भावित आम्दानी र बजार अवस्थाको मूल्याङ्कन गरेर बाली छनोट गर्न सहज हुने बताइन्।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य पनि मन्त्रिपरिषद्ले निर्धारण गरिसकेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ कायम गरिएको छ।

मन्त्रालयले आगामी आर्थिक वर्षका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया पनि अघि बढाएको जनाएको छ। यसअघि मकैको समर्थन मूल्य तोक्ने व्यवस्था नभएको उल्लेख गर्दै मन्त्रालयले आगामी फागुन मसान्तभित्र प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको छ।

उखुको हकमा आर्थिक वर्ष २०८२/८३ का लागि न्यूनतम खरिद मूल्य यसअघि नै निर्धारण भइसकेको छ भने आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उखुको न्यूनतम खरिद मूल्यसम्बन्धी प्रस्ताव आगामी कात्तिक मसान्तभित्र मन्त्रिपरिषद्मा पेश गरिने मन्त्रालयले जनाएको छ।

शनिबार, ३० जेठ २०८३, ११ : ४८

प्रतिक्रिया