काठमाडौं- वाणिज्य बैंकहरूले असार महिनाका लागि मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को ब्याजदर पुनः घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर कटौती गरिएको छ।
असार १ गतेदेखि लागू भएको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ। यो जेठ महिनाको तुलनामा ०.०७ प्रतिशत बिन्दुले कम हो। जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ४.३४ प्रतिशत ब्याजदर कायम थियो।
संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ। असारका लागि औसत ब्याजदर ३.१८ प्रतिशत निर्धारण गरिएको छ, जुन अघिल्लो महिनाको तुलनामा ०.०२ प्रतिशत बिन्दुले कम हो। जेठमा संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.२० प्रतिशत रहेको थियो।
असार महिनाका लागि २० वाणिज्य बैंकमध्ये ७ बैंकले ब्याजदरमा कटौती गरेका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दरलाई यथावत् राखेका छन्।
ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक रहेका छन्।
यस्तै कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनु, निक्षेपको लागत घट्नु तथा कर्जाको माग अपेक्षाकृत कमजोर रहनुका कारण पछिल्ला महिनाहरूमा निक्षेपको ब्याजदर निरन्तर ओरालो लागिरहेको छ। यसको प्रत्यक्ष असर बचतकर्ताको प्रतिफलमा परेको छ भने बैंकहरूको कोष लागत घटाउन भने सहयोग पुगेको छ।
प्रतिक्रिया