काठमाडौं– नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको १०औँ स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । उपत्यकाभित्रका सुनचाँदी व्यवसायीहरूबीच आपसी एकता, सहकार्य तथा भाइचाराको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
ललितपुरस्थित नखिपोट फुटसल भिलेजमा आयोजित प्रतियोगितामा सुनचाँदी क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था, व्यवसायिक संगठन तथा व्यवसायीहरूको प्रतिनिधित्व गर्दै जम्मा १० वटा टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताले व्यवसायीहरूबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान तथा संगठनात्मक एकतालाई थप मजबुत बनाउन सहयोग पुर्याएको मञ्चका अध्यक्ष खेम तिरूवाले जानकारी दिए ।

प्रतियोगिताको फाइनल खेलमा नेपाल कला व्यवसायी संघले नेपाल सुनचाँदी शिल्प व्यवसायी संघलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको नेपाल कला व्यवसायी संघले फाइनलमा पनि सशक्त खेल प्रस्तुत गर्दै विजेता बन्न सफल भयो भने नेपाल सुनचाँदी शिल्प व्यवसायी संघ दास्रो स्थानमा सीमित भएको छ ।
त्यसैगरी, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघ र नेपाल सुनचाँदी कालिगढ व्यवसायी संघबीच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा रोमाञ्चक बनेको खेलमा नेपाल सुनचाँदी कालिगढ व्यवसायी संघ ४–३ गोल अन्तरले विजयी हुँदै तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा नेपाल सुनचाँदी कालिगढ व्यवसायी संघका नवराज दियालीले सर्वाधिक ११ गोल गर्दै ‘हाइएस्ट गोल स्कोरर’ तथा ‘बेस्ट प्लेयर’को उपाधि जित्न सफल भए भने उत्कृष्ट गोलरक्षक (बेस्ट गोलकिपर) को उपाधि राकेश गजमेरले प्राप्त गरेका छन् ।
मञ्चका अध्यक्ष तिरूवाले प्रतियोगिताले सुनचाँदी व्यवसायीहरूबीचको एकता, सद्भाव, सहकार्य तथा मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन् । १०औँ स्थापना दिवसको अवसरमा आयोजित यस प्रतियोगितालाई व्यवसायीहरूको साझा उत्सवका रूपमा सफलतापूर्वक सम्पन्न गरिएको खेलकुद तथा मनोरञ्जन संयोजक विश्वाश शंकरले अजको अर्थसँग भने ।

औपचारिक कार्यक्रम मञ्चका महासचिव हेम राईले सञ्चालन गरेका थिए भने कलाकार तथा मञ्चका सह–कोषध्यक्ष कमल बराईलीले आफ्नो प्रस्तुती राखेका थिए । खेल अवधिभर कार्यक्रम सञ्चालन रन्जित विश्वकर्माले गरेका हुन् ।
कार्यक्रममा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेश लोकान्द्री, निवर्तमान अध्यक्ष डम्बर बराईली, नेपाल कला व्यवसायी संघका अध्यक्ष बाल कुमार विश्वबर्मा, नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष केशव कुमार सुनार, नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघका अध्यक्ष श्याम सुनार लगायत व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
प्रतिक्रिया