काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०२४/२५ को वार्षिक सुपरभिजन प्रतिवेदनले बैंकिङ क्षेत्रमा निक्षेप, कर्जा र सम्पत्ति बढे पनि खराब कर्जा वृद्धि तथा संस्थागत सुशासनका कमजोरीले जोखिम बढाएको देखाएको छ।
प्रतिवेदनअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप १३.६३ प्रतिशतले बढेर ६ खर्ब ५४ अर्ब रुपैयाँ र कर्जा १०.४९ प्रतिशतले वृद्धि भई ४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ। तर खराब कर्जा २२.४० प्रतिशतले बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात ३.७६ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।
बैंकहरूले धितो सकारेर राख्ने गैर–बैंकिङ सम्पत्ति पनि ४१.७७ प्रतिशतले बढेर ४२.७५ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि बैंकहरूको खुद नाफा ५.९० प्रतिशतले बढेर ५२.८२ अर्ब रुपैयाँ पुगेको छ।
सुपरभिजनका क्रममा राष्ट्र बैंकले कर्जाको वास्तविक अवस्था लुकाउन पुराना ऋणीलाई नयाँ कर्जा दिने, कर्जा रकमको उपयोग प्रभावकारी रूपमा अनुगमन नगर्ने तथा आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको पाएको छ।
प्रतिवेदनमा जोखिम व्यवस्थापन, आन्तरिक लेखापरीक्षण, सञ्चालक नियुक्ति प्रक्रिया तथा सूचना प्रविधि सुरक्षामा समेत सुधार आवश्यक रहेको औंल्याइएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीको स्थायित्व कायम राख्न नियम पालना र सुशासन सुदृढ गर्न बैंकहरूलाई निर्देशन दिएको छ।
प्रतिक्रिया