काठमाडौं- बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अधिकांश हिस्सा वागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ कर्जामध्ये १२ खर्ब ८४ अर्ब ३० करोड रुपैयाँ अर्थात् ७२.२२ प्रतिशत वागमती प्रदेशमा लगानी भएको छ।
यस अवधिमा कर्णाली प्रदेशले भने कुल औद्योगिक कर्जाको केवल ०.२५ प्रतिशत अर्थात् ४ अर्ब ४१ करोड रुपैयाँ मात्र प्राप्त गरेको छ। प्रदेशगत रूपमा कोशीमा ९.२२ प्रतिशत, मधेशमा ७.२२ प्रतिशत, लुम्बिनीमा ७.९१ प्रतिशत, गण्डकीमा १.६२ प्रतिशत तथा सुदूरपश्चिममा १.५५ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको तुलनामा ७.९९ प्रतिशतले वृद्धि भएको छ। कुल बैंक कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.८२ प्रतिशत रहेको छ। औद्योगिक कर्जामध्ये गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगले सबैभन्दा बढी ३५.६७ प्रतिशत हिस्सा ओगटेका छन् भने विद्युत, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६.६२ प्रतिशत कर्जा प्रवाह भएको छ।
यता चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा देशभर ४६१ नयाँ उद्योग दर्ता भएका छन्। तीमध्ये ३६३ उद्योग वागमती प्रदेशमा दर्ता भएका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम चार उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमा ५५ अर्ब ८३ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव भएको छ, जसबाट २२ हजार ८८५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
राष्ट्र बैंकको सर्वेक्षणले उद्योगहरूको उत्पादन क्षमता उपयोग अझै कमजोर रहेको देखाएको छ। अध्ययनमा समेटिएका १९५ उद्योगको औसत क्षमता उपयोग ४२.११ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा केही कम हो।
उद्योगगत रूपमा गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९५.७४ प्रतिशत रहेको छ। त्यसपछि लत्ताकपडा, जलविद्युत, टायर तथा ट्युब र चाउचाउ उद्योगको क्षमता उपयोग उच्च रहेको देखिएको छ। तर प्रशोधित चिया, दूध, कागज, चुरोट, वनस्पति घिउ, फलामजन्य सामग्री तथा विद्युत् तार उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग घटेको राष्ट्र बैंकले जनाएको छ।
प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा उद्योगहरूको औसत क्षमता उपयोग सबैभन्दा बढी ५०.४४ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ३०.८२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया