काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले असार १ गतेदेखि लागू हुने गरी निक्षेप तथा कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत तथा संस्थागत निक्षेपसँगै विभिन्न कर्जा योजनाका लागि संशोधित ब्याजदर निर्धारण गरेको जनाएको छ।
बैंकका अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अवधिअनुसार न्यूनतम २.८२९ प्रतिशतदेखि अधिकतम ४.१० प्रतिशतसम्म ब्याजदर उपलब्ध हुनेछ। संस्थागत मुद्दती निक्षेपमा २.७५ प्रतिशत ब्याजदर कायम गरिएको छ। यस्तै, विभिन्न बचत खातामा २.७६ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याज प्रदान गरिनेछ।
कर्जा क्षेत्रमा बैंकले शिक्षा, घर तथा अटो कर्जाका लागि निश्चित ब्याजदर सार्वजनिक गरेको छ। शिक्षा कर्जामा ५ वर्षसम्मका लागि ९.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि १०.४९ प्रतिशत तथा १० वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ।
त्यसैगरी, घर कर्जामा ५ वर्षसम्मका लागि ८.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मका लागि ९.४९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि १०.४९ प्रतिशत ब्याजदर कायम गरिएको बैंकले जनाएको छ। अटो तथा हायर पर्चेज कर्जामा व्यक्तिगत प्रयोजनका लागि ५ वर्षसम्म ८.९९ प्रतिशत र ५ देखि १० वर्षसम्मका लागि ९.४९ प्रतिशत निश्चित ब्याजदर लागू हुने बैंकले जनाएको छ।
बैंकका अनुसार वैशाख २०८३ का लागि आधार दर (बेस रेट) ५.२५ प्रतिशत रहेको छ भने पछिल्ला तीन महिनाको औसत आधार दर ५.३९ प्रतिशत कायम भएको छ। नयाँ ब्याजदर असार १ गतेदेखि लागू हुनेछ।

प्रतिक्रिया