केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

सोमबार, ०१ असार २०८३, ११ : १७

काठमाडौं-  फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् । 

कालीगण्डकी नदी किनारमा रहेको उनको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गरेका हुन् । दक्षिण कोरियाको जागीरे जीवन त्यागेर गाउँमै फर्किएपछि व्यावसायिक रुपमा फलफूलखेती गर्न थालेकाले उनि अहिले गाउँको उदाहरणीय किसान बनेका छन् ।

पौडेलको केरा बगैँचामा घरपरिवार र थप दुईजना स्थानीयले रोजगारी पाएका छन् । सरकारले भारतबाट केरा आयातमा रोक लगाएपछि बजार मूल्य सन्तोषजनक रुपमा प्राप्त गरेकोमा पौडेल खुुसी भएका छन् ।  

उनले केरा स्थानीय फलेवास, कुश्मा, पोखरा र काठमाडौँसम्म बिक्रीका लागि लैजाने गरेको बताए ।  पौडेलले यस वर्ष करिब ६० क्विन्टल खर्बुजा बिक्री गरेका थिए । 

यसैगरी, उनले भक्तपुरे लोकल काक्रोको ३० केजी बीउ बिक्री गरेका छन् । आठ रोपनी क्षेत्रफलमा काक्रोखेती  गरेका थिए । उनले प्रतिकिलो काक्रोका बीउ रु दश हजारमा बिक्री गरेका हुन् । कृषि औजार तथा मल बीउ खरिदका लागि स्थानीय फलेवास नगरपालिकाले पौडेललाई सहयोग पुर्याएको छ ।

 त्यसैगरी कृषि विकास कार्यालय पर्वतले राजमार्ग÷करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत चालु आवमा केराखेती विस्तारका लागि रु एक लाख ५५ हजार आर्थिक सहयोग गरेको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।
 

सोमबार, ०१ असार २०८३, ११ : १७

प्रतिक्रिया