सगरमाथा र पाटेबाघ अंकित ५०० रुपैयाँका ३० लाख थान नयाँ नोट सार्वजनिक

बुधबार, ०३ असार २०८३, ११ : ०३

काठमाडौं- नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका नयाँ नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको छ। बैंकले सूचना जारी गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेका नयाँ नोट प्रचलनमा आएको जनाएको हो। राष्ट्र बैंकका अनुसार नयाँ नोट साविककै आकार, रङ र डिजाइनमा रहेका छन्। संकेत नम्बर झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याइएको छ।

नेपाली नोटको नम्बरिङ प्रणालीअनुसार संकेतका अक्षरहरू क्रमशः क, ख, ग हुँदै अगाडि बढ्ने व्यवस्था छ। यसपटक प्रयोग गरिएका झ, ञ र ट संकेतअन्तर्गत प्रत्येक सिरिजमा ०००००१ देखि ९९९९९९ सम्मका करिब १० लाख थान नोट छापिएका छन्। यसअनुसार पाँच सय रुपैयाँ दरका कुल ३० लाख थान नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ।

यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गते ५०० रुपैयाँ दरका (२०२० सिरिज) नोट चलनचल्तीमा ल्याएको थियो। नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। तल्लो भागमा ‘सिरिज नम्बर २०८२’ उल्लेख गरिएको छ।

दृष्टिविहीन तथा फरक क्षमता भएका व्यक्तिले स्पर्शका आधारमा नोटको दर पहिचान गर्न सकून् भन्ने उद्देश्यले पानी छापको बायाँतर्फ दुईवटा कालो थोप्ला राखिएको छ।

त्यसैगरी, सगरमाथा हिमालको दायाँपट्टि अण्डाकार आकृतिभित्र रहेको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षा विशेषता समावेश गरिएको छ। नोटको पछाडिको भागको मध्य खण्डमा पाटेबाघको चित्र राखिएको छ भने माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ।

राष्ट्र बैंकले नयाँ नोटमा आधुनिक सुरक्षा विशेषता समावेश गरिएकाले सर्वसाधारणलाई निर्धक्क रूपमा प्रयोग गर्न आग्रह गरेको छ।

NRB

बुधबार, ०३ असार २०८३, ११ : ०३

प्रतिक्रिया