काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो पूँजी आधार थप सुदृढ बनाउन २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार (प्रिफरेन्स) सेयर जारी गर्ने भएको छ।
बैंकका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न आठौं विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। बैंकले व्यवसाय विस्तार, जोखिम वहन क्षमता अभिवृद्धि तथा नियामकीय पूँजी आधारलाई थप बलियो बनाउन प्रिफरेन्स सेयर निष्काशन आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ।
सभाबाट संस्थापक समूहबाट अनिलकुमार ज्ञवाली तथा सर्वसाधारण समूहबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी सञ्चालक पदमा निर्वाचित भएका छन्।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार प्रस्तावित प्रिफरेन्स सेयर निष्काशन सफल भएमा बैंकको पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) सुदृढ हुनुका साथै कर्जा विस्तार गर्ने क्षमता समेत बढ्ने अपेक्षा गरिएको छ।
हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकका २० लाख ३२ हजारभन्दा बढी ग्राहक रहेका छन्।
प्रिफरेन्स सेयर जारी गर्ने निर्णयसँगै बैंकले आफ्नो वित्तीय आधार थप मजबुत बनाउने रणनीति अघि बढाएको छ।
प्रतिक्रिया