काठमाडौं- प्राइम कमर्सियल बैंकले ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले असार १६ गतेदेखि उक्त ऋणपत्र बिक्री खुला गर्न लागेको हो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र जारी गरी कुल ३ अर्ब रुपैयाँ बराबरको स्रोत संकलन गर्ने लक्ष्य लिएको छ। ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत स्थिर ब्याजदर पाउनेछन्।
कुल निष्काशनमध्ये १८ लाख कित्ता व्यक्तिगत तथा संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ।
सार्वजनिक निष्काशनतर्फ छुट्याइएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ११ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि आवेदन दिन सक्नेछन्। आवेदन दिने समय असार १९ गतेसम्म रहेको छ। तोकिएको अवधिमा सबै ऋणपत्र बिक्री नभएमा निष्काशन अवधि असार ३० गतेसम्म थप गर्न सकिने व्यवस्था गरिएको छ।
ऋणपत्रको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सी–आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
बैंकिङ प्रणालीमा तरलता बढी रहेको र कर्जाको माग अपेक्षाकृत न्यून रहेको अवस्थामा बैंकहरूले दीर्घकालीन स्रोत व्यवस्थापन तथा वित्तीय संरचना मजबुत बनाउन ऋणपत्र निष्काशनलाई प्राथमिकता दिँदै आएका छन्।
प्रतिक्रिया