काठमाडौं- सहकारीमा बचत गरेको रकम फिर्ता नपाएपछि काठमाडौं महानगरपालिकाको सहकारी विभागमा उजुरी दिने बचतकर्ताको संख्या ६ हजार पुगेको छ। विभागका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म ६ हजार बचतकर्ताले कुल ५ अर्ब २७ करोड रुपैयाँ फिर्ता गराइदिन माग गर्दै निवेदन दर्ता गराएका छन्।
सहकारीबाट रकम फिर्ता नपाउने समस्या बढ्दै जाँदा महानगरमा उजुरी दिनेहरूको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ। सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार हाल दैनिक करिब ३० जना बचतकर्ताले रकम फिर्ताको मागसहित उजुरी दर्ता गराइरहेका छन्। उजुरीकर्तामध्ये अधिकांश १ लाखदेखि ५ लाख रुपैयाँसम्म बचत गरेका साना बचतकर्ता रहेका छन्।
महानगरपालिकाले प्राप्त उजुरीका आधारमा समस्याग्रस्त सहकारीबाट बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया तीव्र बनाएको जनाएको छ। यसअन्तर्गत हालै ‘बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड’ मार्फत ३४ जना बचतकर्ताको रकम फिर्ता गराइएको छ। उक्त सहकारीले १ लाख ५० हजार रुपैयाँसम्म बचत गरेका सदस्यहरूको रकम भुक्तानी गरेको हो।
विभाग प्रमुख काफ्लेले आगामी एक महिनाभित्र ५ लाख रुपैयाँसम्म बचत गरेका थप बचतकर्ताको रकम फिर्ता गराउने तयारी भइरहेको जानकारी दिए। ठूला रकम बचत गरेका सदस्यहरूको हकमा भने सहकारीको ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउँदै बचत फिर्ता गराउने प्रयास जारी रहेको उनले बताए।
महानगरको सहकारी विभागले हाल उजुरी संकलन, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने काम गरिरहेको छ। छलफलबाट सहमति जुट्न नसकेका अवस्थामा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी तथा सम्बन्धित निकायमा सिफारिस गर्ने व्यवस्था अपनाइएको विभागले जनाएको छ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र हाल १ हजार ९१२ सहकारी संस्था दर्ता रहेका छन्। तर तीमध्ये करिब आधाले मात्र नियमित रूपमा वार्षिक साधारणसभा सम्पन्न गरी प्रतिवेदन बुझाउने गरेका छन्। महानगरपालिकाले कानुनी दायित्व पूरा नगर्ने र नियमित साधारणसभा नगर्ने सहकारी संस्थामाथि कडा निगरानी तथा कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
प्रतिक्रिया