नेपाल राष्ट्र बैंक

तरलता नियन्त्रणको चुनौती, केन्द्रीय बैंकले पुनः बजारबाट ७० अर्ब रुपैयाँ तान्दै

बुधबार, १० असार २०८३, १२ : २४

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या झन् गहिरिँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। वित्तीय प्रणालीमा रहेको अतिरिक्त नगद व्यवस्थापन गर्न केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले पछिल्लो समय दैनिक रूपमा स्थायी निक्षेप सुविधा (SDF) र निक्षेप संकलन उपकरण प्रयोग गर्दै अधिक तरलता व्यवस्थापन गरिरहेको छ। हालसम्म बैंक तथा वित्तीय संस्थाबाट विभिन्न उपकरणमार्फत १० खर्ब ९४ अर्ब रुपैयाँ बराबरको रकम केन्द्रीय बैंकले खिचिसकेको छ।

राष्ट्र बैंकका अनुसार बिहीबारसम्म वित्तीय प्रणालीमा करिब ५६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। यद्यपि, बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा राखेको रकम परिपक्व हुने क्रम जारी रहेकाले पुनः बजारमा आउने सम्भावित नगदलाई व्यवस्थापन गर्न थप ७० अर्ब रुपैयाँ खिच्न लागिएको हो।

अधिक तरलता हुँदा बैंक तथा वित्तीय संस्थाहरूले अल्पकालीन अवधिका लागि आफ्नो अतिरिक्त रकम राष्ट्र बैंकको स्थायी निक्षेप सुविधामा राख्ने गर्छन्। यस्तै, निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले कम ब्याजदरमा रकम राख्न इच्छुक संस्थाहरूलाई प्राथमिकता दिँदै बजारबाट पैसा संकलन गर्ने व्यवस्था अपनाउँछ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम राख्न विभिन्न मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ। तरलता बढी हुँदा निक्षेप संकलन र स्थायी निक्षेप सुविधा प्रयोग गरी बजारको पैसा खिच्ने तथा तरलता अभाव हुँदा रिपो र स्थायी तरलता सुविधामार्फत प्रणालीमा पैसा प्रवाह गर्ने नीति अवलम्बन गरिन्छ।

हाल ब्याजदर करिडोरअन्तर्गत बैंक दर ६ प्रतिशत कायम छ, जुन राष्ट्र बैंकले तरलता उपलब्ध गराउँदा लाग्ने ब्याजदर हो। यता, बजारबाट तरलता खिच्दा दिइने स्थायी निक्षेप सुविधा (SDF) को ब्याजदर २.७५ प्रतिशत रहेको छ।

बुधबार, १० असार २०८३, १२ : २४

प्रतिक्रिया