काठमाडौं- डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ६५ लाख ४१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
कार्यालयका वन अधिकृत तेजेन्द्र रावलका अनुसार विभिन्न राजस्व शीर्षकअन्तर्गत वन क्षेत्रको रोयल्टीबाट ९३ हजार ४०० रुपैयाँ, बेरुजु शीर्षकबाट ४ लाख ७५ हजार ५८१ रुपैयाँ, प्रशासनिक सेवा शुल्कबाट ९ हजार १७५ रुपैयाँ तथा अन्य आयमार्फत ५९ लाख ६३ हजार १५० रुपैयाँ राजस्व संकलन भएको हो।
वन संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै कार्यालयले चालु आवमा वन डढेलो नियन्त्रणका ९ वटा अभियान सञ्चालन गरेको छ। यस अवधिमा एक वटा स्वचालित हाते आरा सूचीकृत गरिएको, ३३ पटक फर्निचर उद्योगको अनुगमन तथा नियमन गरिएको र १९ वटा सामुदायिक वनको कार्ययोजना नवीकरण गरिएको जनाएको छ।
कार्यालयका अनुसार सोही अवधिमा जुम्लाबाट ३१ लाख १ हजार ८१३ किलोग्राम जडीबुटी निकासीका लागि छोडपुर्जी जारी गरिएको छ, जसले जिल्लाको वनजन्य उत्पादनको व्यावसायिक महत्वलाई समेत उजागर गरेको छ।
जिल्लाभर करिब पाँच हेक्टर वनक्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ। सूचना अधिकारी प्रकाश देवकोटाका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा ४६ वटा वनका नयाँ कार्ययोजना कार्यान्वयनको चरणमा रहेका छन्।
हाल जुम्लामा २०६ वटा सामुदायिक वन, १२७ वटा कबुलियती वन र ६ वटा निजी वन सञ्चालनमा रहेका छन्। वन संरक्षण, व्यवस्थापन तथा राजस्व वृद्धिमा यी वनहरूको महत्वपूर्ण योगदान रहेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया