काठमाडौं- देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ । कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले बढेको छ ।
मुलुकभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । यही असार ८ गतेसम्म सबैभन्दा बढी कर्णाली प्रदेशमा २२.८ प्रतिशत र बागमती प्रदेशमा २.३ प्रतिशत रोपाइँ भएको छ ।
मधेस प्रदेशमा करिब पाँच प्रतिशत मात्र रोपाइँ भएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । सो क्षेत्रबाट धानको उत्पादकत्व वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान रहेको छ भने पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।
विभागका महानिर्देशक प्रकाशकुमार संजेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएकाले रोपाइँका लागि देशका अधिकांश ठाउँमा आवश्यक वर्षा हुन सकेको छैन । मौसमको प्रतिकूलता, प्राकृतिक विपद्, अतिवृष्टि तथा अनावृष्टि, मलको समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।
कृषि सूचना केन्द्रले कृषि उत्पादन बढाउन पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि प्रयोग, मनसुनका अवस्थासम्बन्धी जानकारी दिँदै आएको छ ।
प्रतिक्रिया