काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानमैत्री नीति तथा कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा गम्भीरता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रोपाइँको मुख्य समयमा समेत किसानहरूले मल, बीउबिजन, सिँचाइ तथा आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको उल्लेख गरेका छन्।
‘रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्,’ प्रचण्डले भनेका छन्, ‘त्यसैले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
प्रचण्डले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्दै श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा तथा समृद्धिको आधार निर्माण भएको बताएका छन्।
उनले राष्ट्रिय धान दिवसले कृषि र किसानप्रतिको सम्मान थप अभिवृद्धि गर्दै उत्पादन वृद्धि र कृषि आत्मनिर्भरताको नयाँ संकल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास पनि व्यक्त गरेका छन्।
प्रतिक्रिया