काठमाडौं- नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना जारी गर्दै एक वर्ष अवधिको ऋणपत्र बोलकबोल (अक्सन)मार्फत निष्कासन गर्न लागेको जनाएको हो।
सूचनाअनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ। ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते हुने गरी निष्कासन गरिनेछ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ र ब्याजको भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ।
यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन सक्नेछन्। सहभागी संस्थाले न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछि ५ करोडकै गुणांकमा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले यो ऋणपत्रलाई आफ्नो तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने जनाएको छ। यद्यपि, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्ने, तर वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपात मा गणना गर्न सकिने व्यवस्था रहेको छ।
बोलकबोलको बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरदेखि क्रमशः उच्च ब्याजदरका आधारमा एकल ब्याजदर (Single Yield) कायम गरिने राष्ट्र बैंकले जनाएको छ। समान ब्याजदरमा माग आह्वान रकमभन्दा बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ।
राष्ट्र बैंकले स्वीकृत बोलबमोजिम निष्कासन मितिमा सम्बन्धित बैंकको खातामा पर्याप्त मौज्दात नभए बोल स्वतः रद्द हुने जनाएको छ। त्यस्ता संस्थालाई २.५० प्रतिशत जरिवाना तिराउनुका साथै छ महिनासम्म खुला बजार कारोबारसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
प्रतिक्रिया