काठमाडौं- बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को चाप उच्च बनेपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। चालु आर्थिक वर्षको अन्त्यतिर बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले सोमबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (घ)’ जारी गर्न लागेको हो।
यसअघि राष्ट्र बैंकले असार १६, १७ र १९ गते गरी कुल १ खर्ब ५ अर्ब रुपैयाँ बराबरका ऋणपत्र बिक्री गरिसकेको छ। सोमबार जारी हुने ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको परिपक्व अवधि २०८४ साल असार २२ गते तोकिएको छ।
राष्ट्र बैंकका अनुसार ऋणपत्र अनलाइन बोलकबोल प्रक्रियामार्फत निष्कासन हुनेछ। बोलकबोल सोमबार दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ र सोही दिन निष्कासन गरिनेछ। ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था छ।
यो ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा आह्वान गरिएको कुल रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। जारी गरिने ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले खरिद गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर दशमलव पछिका चार अंकसम्म उल्लेख गरी आवेदन दिनुपर्नेछ।
पछिल्लो समय कर्जा प्रवाह अपेक्षाअनुसार विस्तार हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता थपिँदै गएको छ। लगानीयोग्य रकम उपयोग हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरू ठूलो परिमाणमा रकम नेपाल राष्ट्र बैंकमै राख्न बाध्य भएका छन्।
राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार हाल वित्तीय प्रणालीको ९ खर्ब ७४ अर्ब रुपैयाँ विभिन्न मौद्रिक उपकरणमार्फत केन्द्रीय बैंकमा व्यवस्थापन गरिएको छ। निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा तथा एक वर्षे ऋणपत्रमार्फत उक्त रकम खिचिएको हो।
यसअघि असार १६ गते जारी गरिएको ३५ अर्ब रुपैयाँको ऋणपत्रमा ४७ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो। त्यस्तै, असार १७ गतेको ४५ अर्ब रुपैयाँको ऋणपत्रमा ५८ अर्ब ३० करोड रुपैयाँ तथा असार १९ गते जारी गरिएको २५ अर्ब रुपैयाँको ऋणपत्रमा ४९ अर्ब ७० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। आह्वान गरिएको रकमभन्दा उल्लेख्य बढी आवेदन पर्नुले बैंकिङ प्रणालीमा तरलताको चाप अझै उच्च रहेको संकेत गरेको छ।
चालु आर्थिक वर्षमा मात्रै राष्ट्र बैंकले १० अर्बदेखि ४५ अर्ब रुपैयाँसम्मका १२ वटा एक वर्षे ऋणपत्र जारी गरिसकेको छ। ती ऋणपत्रमार्फत हालसम्म ३ खर्ब ५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिएको छ।
हाल बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च स्तर हो। तर निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त रहेकाले तरलता व्यवस्थापन राष्ट्र बैंकका लागि प्रमुख चुनौती बनेको छ। यही कारण केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा र ऋणपत्रजस्ता मौद्रिक उपकरणमार्फत बजारको अधिक तरलता नियन्त्रण गर्ने प्रयासलाई निरन्तरता दिएको छ।
प्रतिक्रिया