घरबास

नेपालमा होमस्टे व्यवसायमा आकर्षण बढ्दै, ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा

विहीबार, २५ असार २०८३, १६ : ०८

काठमाडौं– नेपालमा होमस्टे (घरबास) व्यवसाय ग्रामीण पर्यटनको महत्त्वपूर्ण आधारका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, परम्परा र मौलिक खानाको अनुभव लिन चाहने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दै जाँदा होमस्टेप्रतिको आकर्षण पनि बढेको हो ।

होमस्टे सञ्चालनले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समय विभिन्न स्थानीय तहले पनि होमस्टे प्रवर्द्धनका लागि तालिम, पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिइरहेका छन् ।
 
थारु होमस्टे बगौडा माडी चितवनका सञ्चालक समितिका पूर्व अध्यक्ष एवम् व्यवस्थापक ओम प्रकाश महतोले भने, ‘होमस्टेले हामीलाई गाउँमै बसेर सम्मानजनक आम्दानी गर्ने अवसर दिएको छ । पर्यटकलाई हाम्रो संस्कृति, रहनसहन र स्थानीय परिकार मन पर्छ । यसबाट परिवारको आम्दानी मात्र होइन, गाउँकै आर्थिक गतिविधि पनि चलायमान बनेको छ ।’

उनका अनुसार, होमस्टे व्यवसायलाई अझ प्रभावकारी बनाउन सडक, खानेपानी, इन्टरनेट तथा अन्य आधारभूत पूर्वाधारमा सुधार आवश्यक छ । साथै अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार र सेवा गुणस्तरमा ध्यान दिन सके नेपालका ग्रामीण क्षेत्र पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने उनको विश्वास छ । ‘पर्यटन व्यवसायीहरूले होमस्टेलाई दिगो पर्यटनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्न सरकार, स्थानीय तह र निजी क्षेत्र बिच समन्वय आवश्यक रहेको’ महतोले आजको अर्थसँगको कुराकानीमा बताए ।

उनले विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकहरूको आगमन धेरै रहेको बताए ।  सुरुका दिनहरूमा होमस्टे सञ्चालन गर्दा असहज भएको भन्दै अहिले पर्यटकहरूको आगमनले स्थानीयहरू खुसी भएको उनले स्मरण गरे । विशेष गरी पर्यटकहरूले थारु समुदायको मौलिक खाना तथा परम्परागत संस्कृतिलाई धेरै मनपराइ रहेको उनले बताए ।

हाल थारु सामुदायिक होमस्टेमा साधारण तथा एसी सहितको ५० जना पर्यटक अट्ने क्षमताको कोठाहरू छ भने हास, घुँगी, चिचरको माग धेरै रहेको उनले जानकारी दिए । ‘पहिले महिला बाहिर बोल्नै डराउनुहुन्थ्यो”, उनले भने, “अहिले पाहुनासँग खुलेर संवाद गर्नुहुन्छ, कार्यक्रम सञ्चालन गर्नुहुन्छ । गाउँकै विकासमा महिलाको भूमिका बढेको छ ।’   

सञ्चालक, सरकार र सम्बन्धित निकायले होमस्टे व्यवसायलाई थप प्रोत्साहन गर्न पूर्वाधार विकास, सहज ऋण, प्रभावकारी प्रचारप्रसार तथा सेवा गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिनुपर्छ । यस्ता पहलले ग्रामीण पर्यटनलाई थप सशक्त बनाउनुका साथै स्थानीयको आयआर्जन वृद्धि, रोजगारी सिर्जना र नेपालको पर्यटन क्षेत्रको दिगो विकासमा महत्त्वपूर्ण योगदान पुग्ने छ । 

विहीबार, २५ असार २०८३, १६ : ०८

प्रतिक्रिया