‘भूपू प्रहरीको तरकारीखेती कृषकको पहिचान’

शुक्रबार, २६ असार २०८३, १३ : ०६

काठमाडौं- तुलसीपुर उपमहानगरपालिका–१२  रझेनामा साढे छ बिघा जमिनमा यतिखेर गोलभेँडा, बोडी, काँक्रा र भेडे खुर्सानी निकै राम्रोसँग उत्पादन भइरहेको छ ।

त्यहाँ उत्पादन भइरहेको तरकारी देखेर आश्चर्य मानेका व्यक्तिको प्रतिक्रिया सुनेर किसान वसन्त भण्डारी भने हर्षित छन् । उनको पसिना र पौरखले बारीभरि बेमौसमी तरकारीखेती लहलह छ । त्यही कारण भण्डारीको पहिचान पनि फेरिएको छ । 

हिजो प्रहरी सुरक्षाकर्मीको पहिचान बनाएका उनले अहिले व्यावसायिक सफल कृषकको चिनारी पाएका छन् । उनको तरकारीखेती त्यस क्षेत्रकै एक नमूना  बनेको छ, जसले उपभोक्तालाई मात्र नभई अरु कृषकलाई पनि लोभ्याइरहेको छ । वरपरका जमिनका बीचमा हरियाली रहेको तरकारीखेतीका बीच लटरम्म  फलेका र  पाकेका गोलभेँडा तथा बेमौसमी बोडी, काँक्रा, भेडेखुर्सानी, सिमी, काउली, बन्दा, धनियाँको उत्पादन राम्रो देखिएको छ । कृषक भण्डारीले ती तरकारीका बेर्ना समेत तयार गरी बिक्री वितरण गर्दै आएका छन् । त्यसबाट पनि उनले मनग्गे आम्दानी प्राप्त गर्न सफल भएका छन् । 

अहिले जिल्लाका किसानका लागि उनि एक सफल कृषकको उदाहरण बनेका छन् । यसअघि भण्डारी नेपाल प्रहरीमा रहँदा विभिन्न ठाउँमा १६ वर्ष सेवा गरी २०७९ सालमा  सेवा निवृत्त भएका थिए । प्रहरी सेवाबाट बाहिरिएपछि आफ्नै गाउँमा वर्षौंदेखि खण्डहर रहेको साढे छ बिघा जमिन मासिक करिब दुई लाख भाडामा लिएर तरकारीखेतीको सुरुआत गरेको हो । 

भण्डारीले थोपा सिँचाइ तथा मल्चिङ प्रविधिबाट खेती गरिरहेका छन् । सुरुको वर्षमा उन्नत जातको मकै र तोरीखेती गरेकोमा उनले मकैबाट सन्तोषजनक आम्दानी प्राप्त गर्न नसकेपछि दोस्रो वर्षदेखि बेमौसमी तरकारीखेती सुरु गरेका थिए । 

उनि भन्छन्, “बेमौसमी तरकारीखेतीबाट अहिले सोचेभन्दा राम्रो आम्दानी भएको छ, सबै खर्च कटाएर वार्षिकरुपमा रु २५ देखि ३० लाखसम्म बचत गर्न सकेको छु ।” तरकारीखेतीमा अहिलेसम्म रु २० लाखबढी लगानी र अहिले १५ जनालाई रोजगारी दिएका छन् ।

कृषक भण्डारीले उत्पादन गर्नुभएका व्यपारीले खेतबाटै उठाएर लैजाने गरेका छन् । त्यहाँका उत्पादन तुलसीपुर, घोराही, काठमाडाँै, बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायतका सहरमा पुग्ने गरेको भण्डारी बताए ।

नेपाल कृषि प्रधान देश भएको र मुलुक अर्थतन्त्रमा कृषिक्षेत्रको महत्वपूर्ण योगदान रहेकाले सरकारले यस क्षेत्रलाई सहयोग, समन्वय र सहजीकरण गर्नुपर्ने उनको सुझाव छ । देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र युवालाई लक्षित गरी स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय सञ्चालनमा ल्याइनुपर्नेमा आवश्यकता रहेको औँल्याए ।

साथै स्थानीय सरकारले कृषकका उत्पादन तरकारीको मूल्य निर्धारण गरी बजार व्यवस्थापनमा सहयोग पुर्याउनुपर्ने उनको भनाइ छ । तरकारी उत्पादनको  क्षेत्रमा पाएको सफलताले कृषक भण्डारी छोटो समयमै उदाहरणीय बन्न सफल भएका छन् । 

कृषक भण्डारीलाई तुलसीपुर उपमहानगरपालिकाको गत चैतमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ भने राष्ट्रिय वाणिज्य बैंक तुलसीपुरले पनि उत्कृष्ट ऋणीका रुपमा सम्मान गरिसकेको छ ।
 

शुक्रबार, २६ असार २०८३, १३ : ०६

प्रतिक्रिया