काठमाडौं- यस वर्ष देशभर धान रोपाइँको गति अपेक्षाकृत सुस्त देखिएको छ। पर्याप्त वर्षा ढिलो सुरु हुनु, कतिपय क्षेत्रमा सिँचाइको अभाव तथा मौसमको प्रतिकूलताका कारण असार २६ गतेसम्म देशभर कुल ४५.८१ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा करिब १३.५ प्रतिशतले कम हो।
कृषि विभागले सार्वजनिक गरेको प्रदेशगत रोपाइँ विवरणअनुसार गत वर्ष असार २६ गतेसम्म देशभर ५९.२८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष भने कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये ६ लाख २७ हजार ५६६ हेक्टरमा मात्रै रोपाइँ सकिएको विभागले जनाएको छ।
प्रदेशगत तथ्यांकअनुसार यस वर्ष गण्डकी प्रदेश धान रोपाइँमा सबैभन्दा अगाडि रहेको छ। गण्डकीमा कुल ९३ हजार ६०६ हेक्टरमध्ये ६१ हजार ७२७ हेक्टर अर्थात ६५.९ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ।
त्यसपछि लुम्बिनी प्रदेशमा ५९.६ प्रतिशत र वागमती प्रदेशमा ५७.१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशमा ५७.९ प्रतिशत रोपाइँ भएको तथ्यांक रहेको भए पनि विभागले त्यहाँको विवरण असार १९ गतेसम्मको मात्रै समावेश गरिएको जनाएको छ। कर्णाली प्रदेशमा भने ४०.५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपिएको छ।
धान उत्पादनको मुख्य आधार मानिने मधेस र कोशी प्रदेशमा भने यस वर्ष रोपाइँ निकै सुस्त देखिएको छ। मधेसमा कुल ३ लाख ८५ हजार १३३ हेक्टर खेतीयोग्य जमिनमध्ये १ लाख २६ हजार ४३९ हेक्टर अर्थात ३२.८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ।
सबैभन्दा कम प्रगति कोशी प्रदेशमा देखिएको छ। कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये ८७ हजार ३३ हेक्टर अर्थात ३१.५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि विभागको विवरणमा उल्लेख छ।
गत वर्षको तुलनामा हेर्दा सबै प्रदेशमा धान रोपाइँको गति घटेको देखिन्छ। सबैभन्दा ठूलो गिरावट सुदूरपश्चिम प्रदेशमा देखिएको छ, जहाँ गत वर्ष यसै अवधिसम्म ९३.१० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ५७.९ प्रतिशतमा सीमित भएको छ।
यस्तै, कर्णाली प्रदेशमा गत वर्ष ८३.२३ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ४०.५ प्रतिशत मात्रै पुगेको छ। वागमती प्रदेशमा पनि गत वर्ष ७६.३१ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ५७.१ प्रतिशत मात्रै भएको छ।
कृषि विज्ञहरूका अनुसार मनसुन सक्रिय हुन ढिलाइ, असमान वर्षा, सिँचाइ सुविधा अभाव तथा केही क्षेत्रमा बाढी–पहिरोको प्रभावका कारण यस वर्ष धान रोपाइँ प्रभावित भएको हो। आगामी केही दिन मनसुन सक्रिय रहेमा रोपाइँको गति बढ्ने अपेक्षा गरिएको छ। कृषि विभागले किसानलाई स्थानीय मौसमको अवस्था हेरेर रोपाइँलाई तीव्रता दिन तथा आवश्यक कृषि प्राविधिक सेवाको उपयोग गर्न आग्रह गरेको छ।
प्रतिक्रिया