काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणलाई सहयोग पुर्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था तथा स्थानीय तहलाई व्हिलचेयर र खानेपानी सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ।
बैंकले देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तहमार्फत कुल २६ वटा व्हिलचेयर वितरण गरेको जनाएको छ। यसअन्तर्गत सल्यान जिल्ला अस्पताललाई १० वटा, त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ वटा, मोरङको रंगेली अस्पताललाई १० वटा तथा ओमसतिया गाउँपालिका–१ मार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकतामा रहेका व्यक्तिका लागि ३ वटा व्हिलचेयर उपलब्ध गराइएको छ।
त्यसैगरी बैंकले पथरी नगर अस्पताललाई ४ वटा तीन सिटे कुर्सी, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर तथा सल्यानस्थित जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा आरओ वाटर प्युरिफायर पनि हस्तान्तरण गरेको जनाएको छ।
मुक्तिनाथ विकास बैंकले स्वास्थ्य, शिक्षा र सामाजिक समावेशितालाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ। आगामी दिनमा पनि समुदायको दिगो विकास तथा जनकल्याणमा योगदान पुग्ने कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने बैंकको प्रतिबद्धता रहेको छ।
प्रतिक्रिया