प्रिमियर कप क्रिकेट: जापानलाई हराउँदै नेपाल यू–१९ महिला टिम सेमिफाइनलमा

बुधबार, ३१ असार २०८३, १४ : ३९

काठमाडौं- नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ । नेपालको यू–१९ महिला क्रिकेट टोलीले जापानमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। जापानले प्रस्तुत गरेको ८७ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र ११.२ ओभरमा १ विकेट गुमाएर ९० रन बनाउँदै सहजै भेट्टाएको हो ।

नेपालको जितमा प्रारम्भिक ब्याटर सावित्री धामीले अविजित ४१ रनको उत्कृष्ट इनिङ्स खेलिन । उनले ३२ बलको सामना गर्दै उक्त रन बनाईन् । यसैगरी सना प्रवीनले १६ बलमा १८ रन र सोनी पाख्रिनले २२ बलमा अविजित १८ रनको योगदान दिनुभयो। जापानका तर्फबाट ममता कश्वानले ४ ओभरमा ११ रन दिँदै १ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सकेको थियो। जापानका लागि कप्तान बियान्का शिनोले ५७ बलमा सर्वाधिक ३८ रन बनाईन् । त्यस्तै आयाने साकुराबा र किचो सुजुकीले समान १०–१० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जापानलाई सस्तैमा समेट्ने क्रममा नेपाली बलरले कसिलो बलिङ गरेका थिए। नेपालका लागि कृष्मा गुरुङले ३ ओभरमा मात्र ६ रन खर्चेर २ विकेट लिनुभयो। रिया शर्माले ४ ओभरमा २३ रन दिएर २ विकेट तथा सोनी पाख्रिन र अनु कडायतले समान १–१ विकेट लिएका थिए । 
 

बुधबार, ३१ असार २०८३, १४ : ३९

प्रतिक्रिया