एटलान्टा- विश्वकप २०२६ को फाइनल समीकरण पूरा भएको छ। अब विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन उपाधिका लागि आमनेसामने हुनेछन्। आइतबार न्यु जर्सीको इस्ट रडरफोर्डमा हुने फाइनल केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र होइन, आक्रमण र रक्षाको उत्कृष्ट शैलीबीचको रोचक भिडन्त पनि हुनेछ।
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको नेतृत्व विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता लियोनल मेसीले गरिरहेका छन्। प्रतियोगितामा अर्जेन्टिनाले अहिलेसम्म सबैभन्दा धेरै १९ गोल गरेको छ। अर्कोतर्फ स्पेनले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै सबैभन्दा कम गोल खाएको टोलीका रूपमा फाइनल यात्रा तय गरेको छ।
स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने ‘कमब्याक किङ’को छवि बनाएको अर्जेन्टिनाले इंग्ल्यान्डलाई हराउँदै उपाधि नजिक पुगेको हो।
अर्जेन्टिनासँग चौथोपटक विश्वकप जित्ने अवसर छ। यदि टोली सफल भयो भने लगातार दुई संस्करणको विश्वकप जित्ने उपलब्धि हासिल गर्नेछ, जुन इतिहासमा ब्राजिलले सन् १९५८ र १९६२ मा मात्र गरेको थियो। स्पेन भने सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिनेछ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भएको १०४ खेलको यस विश्वकपमा अब केवल एक खेल बाँकी छ। प्रतियोगिताको सबैभन्दा ठूलो क्षणमा विश्व फुटबलका दुई उत्कृष्ट टोलीबीचको भिडन्तले समर्थकको उत्साह चरममा पुर्याएको छ।
यो फाइनललाई धेरैले ‘फाइनलिसिमा’को झल्को दिने खेलका रूपमा पनि हेरेका छन्। दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच गत मार्चमा कतारको दोहामा मैत्री खेल हुने तय भएको थियो। त्यसबेला पनि मेसी र युवा स्टार लामिन यामलबीचको सम्भावित भिडन्तले विश्व फुटबलमा ठूलो चर्चा पाएको थियो। तर मध्यपूर्वमा बढेको सुरक्षा संकटका कारण उक्त खेल स्थगित भएको थियो।
अब त्यही बहुप्रतीक्षित प्रतिस्पर्धा विश्वकपको सबैभन्दा ठूलो मञ्चमा साकार हुन लागेको छ। अर्को विशेषता के पनि छ भने फिफा वरीयताको शीर्ष दुई टोली नै उपाधिका लागि भिड्दै छन्। विश्वकपअघि सार्वजनिक गरिएको फिफा वरीयतामा अर्जेन्टिना पहिलो र स्पेन दोस्रो स्थानमा रहेका थिए।
यसबीच सामाजिक सञ्जालमा सन् २००७ मा खिचिएको एउटा तस्बिर फेरि भाइरल बनेको छ। युनिसेफको कार्यक्रममा सहभागी भएका मेसीले त्यतिबेला एक सानो बालकलाई काखमा लिएर तस्बिर खिचेका थिए। त्यो बालक अरू कोही नभई अहिले स्पेनका स्टार लामिन यामल थिए। दुई दशकअघि एउटै तस्बिरमा देखिएका मेसी र यामल अहिले विश्वकप फाइनलमा एकअर्काविरुद्ध उभिन लागेका छन्। यही संयोगलाई धेरैले ‘पिक्चर परफेक्ट’ क्षणका रूपमा चित्रण गरिरहेका छन्।
दुवै टोली अपराजित यात्रासहित फाइनल पुगेका छन्। स्पेन सबै प्रतियोगिता गरी लगातार ३७ खेलदेखि अपराजित छ, जसमा २८ जित र ९ बराबरी समावेश छन्। स्पेनले अन्तिम पटक सन् २०२४ मा कोलम्बियासँग हार बेहोरेको थियो।
अर्जेन्टिना पनि विश्वकपका लगातार १३ खेलमा अपराजित छ। यस अवधिमा टोलीले ११ जित र २ बराबरी निकालेको छ। सन् २०२२ को विश्वकपमा साउदी अरेबियासँगको अप्रत्याशित हारपछि अर्जेन्टिनाले विश्वकपमा पराजय चाखेको छैन।
अब सबैको नजर एउटै प्रश्नमा केन्द्रित छ- आक्रमणको धार बलियो रहेको अर्जेन्टिना बाजी मार्नेछ कि अभेद्य रक्षाका साथ स्पेनले दोस्रो विश्वकप उपाधि उचाल्नेछ? विश्व फुटबलले यसको जवाफ आइतबार पाउनेछ।
प्रतिक्रिया