‘विदेशमा कमाऔँ, नेपालमा सम्पत्ति बनाऔँ’ अभियानसहित एनआइसी एसिया क्यापिटलको ‘लगानी मास्टरक्लास’

शुक्रबार, ०१ साउन २०८३, १२ : ०६

काठमाडौं- एनआइसी एसिया क्यापिटलले पहिलोपटक विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’सम्बन्धी कार्यक्रम दोहा, कतारमा सम्पन्न गरेको छ । 

क्यापिटलले आफ्नो संस्थागत सामजिक उत्तरदायित्वअन्तर्गत नियमित रूपमा विविध कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा खाडी मुलुकहरूमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अत्यधिक रहेको र उनीहरूमा वित्तीय तथा पुँजीबजारसम्बन्धी साक्षरता अभिवृद्धि गराउने हेतुले उक्त कार्यक्रम गरेको हो । 

खाडी मुलुकमध्ये कतारमा मात्र करिब तीन लाख ५० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको हुँदा क्यापिटलले पहिलोपटक ‘विदेशमा कमाऔँ, नेपालमा सम्पत्ति बनाऔँ’ भन्ने नारसहित ‘सफलताको बाटो परामर्श तथा प्रशिक्षण केन्द्र’ सञ्चालकहरूसँगको सहकार्यमा विदेशमा रहेका नेपालीलाई लक्षित गरी ‘पर्सनल फाइनान्स एन्ड इन्भेस्टमेन्ट मास्टरक्लास’ असार २६ गते  कतारमा सम्पन्न गरेको छ । 

साथै सोही कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक सेयर निष्कासनको समयमा के–कसरी आवेदन दिन सकिन्छ, आवेदन दिँदा ध्यान दिने कुराहरू, सामूहिक लगानी कोषको इकाइ तथा एसआइपी खरिद गर्दा ध्यान लिनुपर्ने कुराहरू, धितोपत्रको दोस्राे बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने कुराहरूसहित नेपालमा उपलब्ध लगानीको विविध अवसरहरू र त्यहाँ बस्ने नेपालीलाई नेपालमा लगानी गर्ने प्रक्रिया, विदेशमा कमाएको पैसा वैधानिक माध्यमबाट कसरी नेपाल पठाउनेलगायत पछिल्लो समयमा नेपालमा उपलब्ध लगानीको अवसरहरूको सम्बन्धमा विस्तृत जानकारी गराई अन्तरक्रिया गरिएको थियो । 

उक्त कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका तथा कतारमा व्यवसाय गरी बसोबास गर्ने १४० जना भन्दा बढी नेपालीको सक्रिय सहभागिता रहेको थियो ।

शुक्रबार, ०१ साउन २०८३, १२ : ०६

प्रतिक्रिया