ऊर्जा क्षेत्रमा ऐतिहासिक सफलता

नेपालको विद्युत् निर्यातमा ऐतिहासिक छलाङ, ६८ प्रतिशतले बढ्यो आम्दानी

विहीबार, ०७ साउन २०८३, १२ : ५७

काठमाडौं- नेपालले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट हालसम्मकै उच्च २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत र बंगलादेशमा ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गर्दा यो आम्दानी भएको हो। प्रतियुनिट औसत ७ रुपैयाँ ५६ पैसाका दरले विद्युत् बिक्री गरिएको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत् निर्यातबाट भएको आम्दानी ६७.९६ प्रतिशत र निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँको विद्युत् निर्यात गरेको थियो।

यसैबीच, गत आर्थिक वर्षमा विद्युत् आयात ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ। आयातमा भएको खर्च पनि १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ।

निर्यातबाट प्राप्त आम्दानी र आयातमा भएको खर्च घटाउँदा नेपालले ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद बचत गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१३ प्रतिशत बढी हो।

प्राधिकरणका अनुसार जलविद्युत् उत्पादनमा वृद्धि, सीमापार प्रसारण लाइन विस्तार, भारतीय ऊर्जा बजारमा पहुँच विस्तार तथा पहिलो पटक बंगलादेशमा विद्युत् निर्यात सुरु हुनु यस उपलब्धिका मुख्य कारण हुन्। निर्माणाधीन जलविद्युत् आयोजना सञ्चालनमा आएपछि आगामी वर्षहरूमा विद्युत् निर्यात र विदेशी मुद्रा आर्जन अझ बढ्ने अपेक्षा गरिएको छ।

विहीबार, ०७ साउन २०८३, १२ : ५७

प्रतिक्रिया