तीन महिना परीक्षण सञ्चालन

२५ अर्बको लगानीमा ८० महिनापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, कस्ता सवारीले पाउँछन् प्रवेश ?

सोमबार, ११ साउन २०८३, ११ : २५

काठमाडौं- नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन्।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन। प्रारम्भिक तीन महिनाको परीक्षण अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन गर्न अनुमति दिइनेछ। परीक्षण अवधिमा कुनै शुल्क नलाग्ने भए पनि त्यसपछि सवारीसाधनको प्रकारअनुसार शुल्क लागू गरिनेछ।

सडक विभागका अनुसार नियमित सञ्चालनपछि कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ। बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ।

करिब ८० महिनापछि सम्पन्न भएको यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी करिब २५ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो। कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा अन्य प्राविधिक जटिलताका कारण निर्माण कार्य निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको थियो।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म जोडिएको सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको जाम, उकालो र घुमाउरो बाटोको समस्या कम हुने तथा यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।

सोमबार, ११ साउन २०८३, ११ : २५

प्रतिक्रिया