काठमाडौं- सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.६६ प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्ष २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँबाट बढेर ६ अर्ब ९९ करोड १५ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्ज घटेकाले बैंकको नाफामा उल्लेख्य सुधार आएको हो। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज १ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकले समीक्षा अवधिसम्म २ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
१५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ २ करोड ८८ लाख रुपैयाँ रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५.७५ रुपैयाँ पुगेको छ। खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ भने लाभांश क्षमता २०.८५ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।
प्रतिक्रिया