मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता

शुक्रबार, १५ साउन २०८३, १२ : ५४

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । 

कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवर्द्धन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको हो । 

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिना अधिकतम २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ बमोजिम योग्य ऋणीहरूले शतप्रतिशत ब्याज अनुदान सुविधा प्राप्त गर्नेछन् ।

यस अवसरमा बैंकले स्थानीय सरकारसँगको सहकार्यमार्फत् उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता पुन: व्यक्त गरेको छ ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी तथा नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरे ।

शुक्रबार, १५ साउन २०८३, १२ : ५४

प्रतिक्रिया