सामाजिक सद्भावका लागि नेपाल निर्माण व्यवसायी महासंघको अपील

शुक्रबार, १५ साउन २०८३, १४ : १५

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले देशका विभिन्न जिल्लाहरूमा पछिल्ला दिनमा भएका झडप र अशान्तिका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षसँग हार्दिक अपिल गरेको छ ।

महासंघका अध्यक्ष निकोलस पाण्डेद्वारा जारी अपिलमा सुनसरी, सिराहा, धनुषा, सप्तरी लगायतका जिल्लाहरूमा भएका झडपका घटनामा मानवीय एवं भौतिक क्षति भएकोमा दुःख व्यक्त गरिएको छ । महासंघले घटनामा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नेपालीहरूको मौलिक पहिचान नै अनेकतामा एकता, आपसी सद्भाव र सहकार्य रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडका घटनाले हाम्रो मौलिक विशेषता र गौरवशाली परम्परामा गम्भीर आघात पुर्‍याउँछ ।’

महासंघले सातै प्रदेश तथा ७७ वटै जिल्लामा रहेका आफ्ना सम्पूर्ण सदस्यहरूलाई सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नका लागि आ–आफ्नो तर्फबाट रचनात्मक भूमिका निर्वाह गर्न निर्देशन/अपिल गरेको छ ।

सामाजिक सद्भावसहितको बृहत्तर एकता र स्थायी शान्तिबाट मात्र मुलुकको आर्थिक समृद्धि सम्भव हुने जनाएको छ । महासंघले समस्या समाधानका लागि तत्काल पहल गर्न नेपाल सरकार, राजनीतिक दलहरू, स्थानीय समुदाय, नागरिक समाज, बुद्धिजीवी तथा सञ्चार जगत्लाई आग्रह गरेको छ ।

साथै, कुनै पनि किसिमको समस्याको स्थायी समाधान वार्ता र संवादमार्फत नै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षहरूलाई तत्काल वार्तामा बसी समस्याको निकास खोज्न महासंघले जोड दिएको छ ।

Appeal

शुक्रबार, १५ साउन २०८३, १४ : १५

प्रतिक्रिया