काठमाडौं- पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ। उक्त अवधिमा पेट्रोल, डिजेल र लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी) गरी तीन प्रकारका इन्धन भारतबाट आयात भएको हो।
काँकडभिट्टा भन्सार कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै १२ अर्ब १८ करोड ७ लाख ६४ हजार रुपैयाँको पेट्रोल आयात भएको छ। यस्तै ९ अर्ब ५५ करोड ४९ लाख ७ हजार रुपैयाँको डिजेल र २ अर्ब ७७ करोड १० लाख ७३ हजार रुपैयाँ बराबरको एलपिजी भित्रिएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत वर्ष पेट्रोलियम पदार्थको आयात रकम बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ९२ करोड ८५ लाख २६ हजार रुपैयाँको पेट्रोल र ७ अर्ब ३ करोड ३२ लाख १९ हजार रुपैयाँको डिजेल आयात भएको थियो।
पेट्रोलियम पदार्थको आयातबाट राज्य कोषमा ठूलो रकम राजस्वसमेत संकलन भएको छ। भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार गत आर्थिक वर्षमा पेट्रोलबाट ५ अर्ब ८५ करोड ३७ लाख ५० हजार रुपैयाँ र डिजेलबाट २ अर्ब ९३ करोड २२ लाख ३९ हजार रुपैयाँ राजस्व असुली भएको छ।
प्रतिक्रिया