स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल

स्थानीयलाई जलविद्युतको सेयर प्रिमियममा होइन, अंकित मूल्यमै दिन इप्पानको अपिल

आइतबार, १७ साउन २०८३, १६ : १४

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आग्रह गरेको छ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै इप्पानले केही प्रवर्द्धक कम्पनीहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

इप्पानले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुसार स्थानीय प्रभावित बासिन्दालाई लाभान्वित गराउने उद्देश्यले १० प्रतिशत सेयर छुट्याउने व्यवस्था रहेकाले उक्त सेयर अंकित मूल्यमै उपलब्ध गराउन आफ्ना सदस्य कम्पनीहरूलाई अनुरोध गरेको छ।

इप्पानका अनुसार स्थानीयलाई प्रिमियममा सेयर बिक्री गर्दा उनीहरूको पहुँच सीमित हुने, आयोजनाप्रतिको अपनत्व कमजोर हुने र आयोजना तथा स्थानीय समुदायबीचको विश्वासमा नकारात्मक असर पर्न सक्छ।

स्थानीयलाई अंकित मूल्यमै सेयर उपलब्ध गराउँदा उनीहरू आयोजनाका वास्तविक साझेदार बन्ने, सामाजिक विवाद कम हुने र आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण बन्ने विश्वास इप्पानले व्यक्त गरेको छ।

साथै, इप्पानले सरकारले सेयर निष्काशनसम्बन्धी नियामकीय प्रक्रिया सरल, पारदर्शी र समयबद्ध बनाउन तथा जलविद्युत आयोजनाहरूमा भइरहेको सेयर निष्काशनको ढिलाइ हटाउन आवश्यक पहल गर्न पनि आग्रह गरेको छ।

आइतबार, १७ साउन २०८३, १६ : १४

प्रतिक्रिया