एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एक्सपिरियन्स एआईः अफेक्सनेट इन्टेलिजेन्स’ शोकेससहित २०२६ को उत्पादन शृङ्खला सार्वजनिक

मंगलबार, १९ साउन २०८३, १७ : ११

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर प्रालिले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘एक्सपिरियन्स एआईः अफेक्सनेट इन्टेलिजेन्स’ प्रदर्शनीमार्फत सन् २०२६ का नयाँ कृत्रिम बुद्धिमत्तायुक्त घरायसी तथा विद्युतीय उपकरण सार्वजनिक गरेको छ ।

भदौ ४ गतेदेखि असोज १४ गते, २०८३ सम्म सञ्चालन हुने प्रदर्शनीमा कृत्रिम बुद्धिमत्तामा आधारित टेलिभिजन, ध्वनि प्रणाली, कपडा धुने मेसिन, रेफ्रिजेरेटरलगायतका अत्याधुनिक उत्पादन प्रदर्शनमा राखिएका छन् । कम्पनीका अनुसार नयाँ उत्पादनहरूले प्रयोगकर्ताको दैनिक बानी र आवश्यकताको अध्ययन गरी स्वचालित रूपमा आफूलाई अनुकूल बनाउँदै घरायसी कामलाई सरल, सहज र प्रभावकारी बनाउनेछन् ।

कम्पनीले ‘अफेक्सनेट इन्टेलिजेन्स’ अवधारणाअन्तर्गत विकास गरिएको कृत्रिम बुद्धिमत्ता गृह प्रणालीले परम्परागत स्वचालित प्रविधिभन्दा एक कदम अघि बढेर प्रयोगकर्ताको जीवनशैली बुझ्ने र त्यसअनुसार सेवा प्रदान गर्ने जनाएको छ । यसले व्यक्तिगत मनोरञ्जन, कपडा धुने कार्यदेखि खाद्य सामग्रीको सुरक्षित संरक्षणसम्मका कामलाई थप स्मार्ट र सुविधाजनक बनाउने विश्वास कम्पनीको छ ।

प्रदर्शनीको उद्घाटन एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरको बङ्गलादेश शाखाका प्रमुख सुङ्घो चुनले काठमाडौंको मिनभवनस्थित एलजी ब्रान्ड स्टोरमा गरेका छन् । कार्यक्रममा सञ्चारकर्मी, व्यवसायिक साझेदार तथा ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख चुनले प्रविधि केवल आधुनिक मात्र नभई प्रयोगकर्तामैत्री, व्यक्तिगत र उपयोगी हुनुपर्ने बताए । उनले कृत्रिम बुद्धिमत्तामा आधारित गृह प्रणालीले दैनिक जीवनलाई सहज बनाउने, घरायसी जिम्मेवारी घटाउने र परिवारलाई गुणस्तरीय समय बिताउन सहयोग गर्ने उद्देश्य राखिएको स्पष्ट पारे ।

DSC_9860

कम्पनीले सार्वजनिक गरेको नयाँ शृङ्खलामा रहेको कृत्रिम बुद्धिमत्तायुक्त टेलिभिजनले प्रयोगकर्ताको रुचिअनुसार दृश्य तथा ध्वनि स्वतः मिलाउने सुविधा प्रदान गर्छ। यसले घरभित्र रहेका अन्य स्मार्ट उपकरणहरूको नियन्त्रण केन्द्रका रूपमा पनि काम गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी, नयाँ कपडा धुने मेसिनले कपडाको प्रकार पहिचान गरी उपयुक्त धुने प्रक्रिया आफैं छनोट गर्छ। यसले पानी, ऊर्जा र धुने पदार्थको प्रयोगलाई सन्तुलित बनाउँदै कपडाको गुणस्तर जोगाउन सहयोग पुर्याउने कम्पनीको दाबी छ ।

कृत्रिम बुद्धिमत्तायुक्त रेफ्रिजेरेटरले प्रयोगकर्ताको प्रयोगको ढाँचा विश्लेषण गरी आवश्यकताअनुसार चिस्यान नियन्त्रण गर्ने व्यवस्था गरिएको छ। यसले खाद्य सामग्री लामो समयसम्म ताजा राख्नुका साथै विद्युत् खपत पनि कम गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको ‘एलजी थिङ्क्यू’ प्रणालीले घरका विभिन्न स्मार्ट उपकरणलाई एउटै माध्यमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने सुविधा उपलब्ध गराउँछ। प्रयोगकर्ताको बानी सिक्दै व्यक्तिगत अनुभव प्रदान गर्ने यो प्रणालीले स्मार्ट घरको अवधारणालाई थप प्रभावकारी बनाउने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार नयाँ उत्पादनहरू नेपालभर रहेका एलजीका आधिकारिक ब्रान्ड स्टोर तथा बिक्री केन्द्रहरूमा प्रदर्शन तथा बिक्रीका लागि उपलब्ध छन् ।

सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबलअन्तर्गतको उपभोक्ता विद्युतीय सामग्रीसम्बन्धी कम्पनी हो। एलजी इलेक्ट्रोनिक्ससँग चार दशकभन्दा लामो सहकार्य गर्दै आएको कम्पनी नेपालमा एलजी उत्पादनको आधिकारिक राष्ट्रिय वितरक हो ।

एलजी इलेक्ट्रोनिक्स विश्वव्यापी रूपमा घरायसी विद्युतीय उपकरण, गृह मनोरञ्जन तथा वातानुकूलन प्रविधिका क्षेत्रमा अग्रणी कम्पनीका रूपमा परिचित छ। अत्याधुनिक प्रविधि, ऊर्जा(दक्ष उत्पादन र मानवकेन्द्रित डिजाइनका माध्यमबाट कम्पनीले विश्वभरका उपभोक्तालाई नवीन समाधान उपलब्ध गराउँदै आएको जनाएको छ ।

मंगलबार, १९ साउन २०८३, १७ : ११

प्रतिक्रिया