काठमाडौं- नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२०२८ कार्यकालका लागि हुने निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ। यही क्रममा अध्यक्ष पदकी उम्मेदवार युविका भण्डारी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक भएको छ। "पर्यटन उठे, नेपाल उठ्छ" भन्ने मूल नारासहित सार्वजनिक गरिएको उक्त प्यानलले पर्यटन व्यवसायको संरक्षण, संस्थागत सुधार, सुशासन, पारदर्शिता तथा व्यावसायिक हितलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाएको जनाएको छ।
लामो समयदेखि नेपालको पर्यटन तथा ट्राभल व्यवसायमा सक्रिय रहँदै आएकी युविका भण्डारी नाट्टाको महासचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेकी अनुभवी व्यवसायी हुन्। संस्थाभित्रको लामो अनुभव, पर्यटन क्षेत्रका समस्या र सम्भावनाबारेको गहिरो बुझाइ तथा व्यवसायीको साझा हितका विषयमा निरन्तर आवाज उठाउँदै आएको अनुभवका कारण उहाँको उम्मेदवारीलाई पर्यटन क्षेत्रले चासोका साथ हेरेको छ।
युविका भण्डारी नेतृत्वको प्यानलमा महासचिव पदमा कृष्णप्रसाद ढकाल उम्मेदवार रहेका छन्। पर्यटन व्यवसायसँगै व्यवस्थापन, वित्तीय अनुशासन र उद्यमशीलतामा अनुभव हासिल गरेका ढकालले नाट्टालाई समयानुकूल, उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अध्यक्ष र महासचिवको यो संयोजनले संस्थागत नेतृत्वलाई थप प्रभावकारी बनाउने विश्वास समर्थकहरूको छ।
सार्वजनिक गरिएको प्यानलअनुसार वरिष्ठ उपाध्यक्षमा वरुण मेहता, उपाध्यक्षमा धकनाथ काफ्ले,महासचिवमा कृष्ण प्रसाद ढकाल,सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमा कुमारी प्याकुरेल तथा सह–कोषाध्यक्षमा बिदुर खतिवडा उम्मेदवार रहेका छन ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा राजेन्द्रप्रसाद त्रिपाठी, प्रदीपप्रसाद उदय, बिवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा. उमेश गुप्ता तथा होमबहादुर परियार रहेका छन । पर्यटन उद्योगका विभिन्न क्षेत्रमा लामो अनुभव बटुलेका यी व्यवसायीहरूको सहभागिताले प्यानललाई अझ समावेशी, सक्षम र सन्तुलित बनाएको छ।
यो प्यानलले सार्वजनिक गरेको अवधारणाअनुसार नाट्टालाई अझ सशक्त, पारदर्शी, उत्तरदायी, व्यावसायिक र प्रविधिमैत्री संस्था बनाउने लक्ष्य लिएको छ। पर्यटन व्यवसायीका हकहितको संरक्षण, पर्यटन नीति सुधारका लागि सरकारसँग प्रभावकारी समन्वय, अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सहकार्य विस्तार, डिजिटल प्रविधिको अधिकतम उपयोग, व्यवसायीको क्षमता अभिवृद्धि तथा पर्यटन उद्योगको दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता टोलीले जनाएको छ।
कोभिड १९ महामारीपछि पुनरुत्थानको चरणमा रहेको नेपालको पर्यटन उद्योग अहिले नयाँ अवसर र चुनौतीको संगममा उभिएको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढिरहेका बेला निजी क्षेत्रको छाता संस्था नाट्टाको नेतृत्वले दूरदृष्टिसहित प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता व्यवसायीहरूले औँल्याउँदै आएका छन्। त्यसैले यसपटकको निर्वाचनलाई सामान्य नेतृत्व परिवर्तनका रूपमा मात्र नभई नेपालको निजी पर्यटन क्षेत्रको आगामी दिशा निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यसैबीच देशभरका विभिन्न ट्राभल तथा टुर व्यवसायीहरूले युविका भण्डारी नेतृत्वको प्यानलप्रति समर्थन जनाउँदै अनुभवी र परिणाममुखी नेतृत्वलाई विजयी गराउन आग्रह गरेका छन्। महासचिवका रूपमा रहँदा युविका भण्डारीले संस्थागत सुधार, व्यवसायीका मुद्दा उठान तथा नाट्टाको गरिमा अभिवृद्धिमा खेलेको भूमिकालाई आधार मानेर अध्यक्ष पदमा पनि उहाँले प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। त्यस्तै महासचिव पदका उम्मेदवार कृष्णप्रसाद ढकालको व्यवस्थापकीय क्षमता र व्यावसायिक अनुभवले संस्थालाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।
नाट्टा निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि थप तीव्र बन्दै गएका छन्। विभिन्न प्यानलहरूले आफ्ना एजेन्डा र योजनाहरू सार्वजनिक गरिरहेका बेला युविका भण्डारी–कृष्णप्रसाद ढकाल नेतृत्वको टोली ले अनुभव, संस्थागत योगदान, पारदर्शी नेतृत्व, स्पष्ट कार्ययोजना र व्यवसायीप्रतिको उत्तरदायित्वलाई आफ्नो मुख्य चुनावी आधार बनाएको छ ।
अब अन्तिम निर्णय नाट्टाका सदस्य व्यवसायीहरूको मतबाट हुनेछ। आगामी नेतृत्वले केवल नाट्टाको संगठनात्मक भविष्य मात्र होइन, नेपालको पर्यटन उद्योगको निजी क्षेत्रको दिशा र गतिलाई समेत प्रभाव पार्ने भएकाले अनुभवी, सक्षम र दूरदर्शी नेतृत्व चयन गर्नुपर्नेमा पर्यटन क्षेत्रका व्यवसायीहरूले जोड दिएका छन्। यही सन्दर्भमा युविका भण्डारी नेतृत्वको प्यानल आगामी नाट्टा निर्वाचनमा बलियो, विश्वासिलो र प्रभावशाली दाबेदारका रूपमा स्थापित भएको देखिन्छ।
प्रतिक्रिया