एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड नाफा, जगेडा कोषमा पनि वृद्धि

बुधबार, २० साउन २०८३, १४ : ५९

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७५ प्रतिशत अर्थात् करिब २३ करोड रुपैयाँले बढी हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकले अघिल्लो वर्षको वितरणयोग्य नाफाबाट लाभांश वितरणपछि बाँकी रहेको रकमसमेत जोड्दा कुल सञ्चित नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको जनाएको छ। यसका आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ३८.३२ रुपैयाँ पुगेको छ।

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने सामान्य घटेको छ। अघिल्लो वर्ष ३७.३९ रुपैयाँ रहेको ईपीएस चालु आर्थिक वर्षमा ३६.९५ रुपैयाँमा झरेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ९ अर्ब १० करोड रुपैयाँभन्दा बढी हो। यद्यपि, ब्याजदर अन्तर (स्प्रेड रेट) ३.४८ प्रतिशतबाट घटेर ३.०५ प्रतिशतमा सीमित भएको छ।

बैंकले शुल्क तथा कमिसनबाट १ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ। खुद ब्याज आम्दानी र शुल्क तथा कमिसनबाट भएको वृद्धिले बैंकको नाफा बढाउन उल्लेखनीय योगदान दिएको देखिएको छ।

सम्भावित कर्जा नोक्सानीका लागि बैंकले २७ करोड २८ लाख रुपैयाँ व्यवस्था गरेको छ। बैंकको खराब कर्जा (एनपीएल) ०.३२ प्रतिशतबाट बढेर ०.३९ प्रतिशत पुगेको छ भने निष्क्रिय कर्जा अनुपात पनि ०.३८ प्रतिशतबाट बढेर ०.४९ प्रतिशत पुगेको छ।

बैंकको कर्जा लगानी २ खर्ब १३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यस्तै, पुँजीकोष अनुपात १३.१७ प्रतिशतबाट घटेर १२.२३ प्रतिशत र प्राथमिक पुँजी अनुपात १०.४४ प्रतिशतबाट ९.९८ प्रतिशतमा झरेको छ।

वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर नेटवर्थ २५६.४७ रुपैयाँ, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७७.५७ प्रतिशत रहेको छ। बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड रुपैयाँ कायम रहँदा जगेडा कोष १३ अर्ब ८६ करोड रुपैयाँबाट बढेर १५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

बुधबार, २० साउन २०८३, १४ : ५९

प्रतिक्रिया