गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड खुद नाफा

विहीबार, २१ साउन २०८३, ११ : ३१

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३४ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ६१ करोड २० लाख रुपैयाँको तुलनामा ५.६४ प्रतिशतले बढी हो।

बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशतले वृद्धि भई २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ। असुलीमा सुधार र प्रभावकारी जोखिम व्यवस्थापनका कारण सम्भावित कर्जा नोक्सानीबापत छुट्याइने इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा घटेको छ। गत आर्थिक वर्षमा बैंकले ४ करोड ९० लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज छुट्याएको छ भने अघिल्लो वर्ष यस्तो रकम ६४ करोड ७० लाख रुपैयाँ थियो।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षमा ईपीएस २१ रुपैयाँ ९६ पैसा रहेको थियो।

वित्तीय विवरणअनुसार नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस सेयर तथा नगद लाभांश समायोजनपछि कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा कायम भएको छ, जसले आगामी लाभांश वितरण क्षमतासमेत सुदृढ भएको संकेत गरेको छ।

विहीबार, २१ साउन २०८३, ११ : ३१

प्रतिक्रिया