काठमाडौं- कृषि विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को खुद नाफा २९.५२ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६३ करोड ६ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३ अर्ब ७३ करोड २४ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ९ अर्ब ४४ करोड ७४ लाख ६७ हजार रुपैयाँ रहेको थियो।
बैंकको कुल वितरणयोग्य मुनाफा पनि उल्लेख्य रूपमा घटेको छ। गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफा १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ कायम भएको छ, जबकि अघिल्लो वर्ष यो २ अर्ब ८१ करोड ६६ लाख ६९ हजार रुपैयाँ थियो।
प्रतिशेयर आम्दानी (ईपीएस) २४.५९ रुपैयाँबाट घटेर १६.११ रुपैयाँमा झरेको छ। बैंकको खराब कर्जा (एनपीएल) ४.०७ प्रतिशत पुगेको छ भने पुँजीकोष अनुपात १३.२९ प्रतिशत कायम रहेको छ।
बैंकको चुक्ता पुँजी १९ अर्ब ७३ करोड ८२ लाख ३१ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकले ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ।
प्रतिक्रिया