वाणिज्य बैंक

पाँच वर्षमा वाणिज्य बैंकहरूको ‘रेटिङ’मा उतारचढाव, कुन बैंक कति बलियो ?

मंगलबार, २६ साउन २०८३, ११ : ४६

काठमाडौं- इक्रा नेपालबाट साख मूल्यांकन गरिएका वाणिज्य बैंकहरूको पछिल्लो पाँच वर्षको साख मूल्यांकन(रेटिङ)मा विभिन्न उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको विवरणमा केही बैंकको साख मूल्यांकन घटेको, केही निगरानीमा परेको तथा केही बैंकको मूल्यांकन फिर्ता भएको देखिएको हो।

इक्रा नेपालको विवरणअनुसार नेपाल एसबीआई बैंकले भने पाँचै आर्थिक वर्षमा ‘एए’ साख मूल्यांकन कायम राखेको छ। त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म लगातार उच्चतम ‘एएए’ मूल्यांकन कायम राखेको छ।

कृषि विकास बैंकको साख मूल्यांकन ‘ए’ बाट सुरु भएर पछिल्लो वर्ष ‘ए प्लस’ पुगेको थियो। तर आर्थिक वर्ष २०८२/८३ मा उक्त मूल्यांकन फिर्ता गरिएको छ। सिटिजन्स बैंकको ‘बीबीबी प्लस’ मूल्यांकन पछिल्ला वर्षमा निगरानीमा रहेपछि आर्थिक वर्ष २०८२/८३ मा ‘बीबीबी’ मा झरेको छ।

एभरेस्ट बैंकले आर्थिक वर्ष २०८०/८१ देखि ‘एए माइनस’ मूल्यांकन पाएको थियो। २०८२/८३ मा पनि यही मूल्यांकन कायम रहे पनि मूल्यांकन फिर्ता गरिएको विवरणमा उल्लेख छ।

ग्लोबल आइएमई बैंकको मूल्यांकन पछिल्ला वर्षमा ‘ए’ बाट ‘ए माइनस’ मा झरेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा ‘ए माइनस’ नकारात्मक निगरानीमा रहे पनि २०८२/८३ मा ‘ए माइनस’ नै कायम भएको छ।

कुमारी बैंकको साख मूल्यांकन ‘बीबीबी प्लस’बाट घट्दै ‘बीबी प्लस’मा पुगेको छ। लक्ष्मी सनराइज बैंकको पछिल्ला तीन आर्थिक वर्षमा ‘बीबीबी’ नकारात्मक निगरानीमा रहेको छ।

नबिल बैंकको साख मूल्यांकन पनि ‘एए माइनस’बाट घट्दै पछिल्लो समय ‘ए’ मा आएको छ। नेपाल बैंकले भने अधिकांश अवधिमा ‘ए’ मूल्यांकन कायम राखेको छ, यद्यपि आर्थिक वर्ष २०८१/८२ मा ‘ए’ नकारात्मक निगरानीमा थियो।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मूल्यांकन पछिल्लो वर्ष ‘ए’ बाट घटेर ‘ए माइनस’ भएको छ। एनएमबी बैंक पनि पछिल्ला वर्षमा ‘ए माइनस’ नकारात्मक निगरानीमा रहेको छ।

एनआईसी एसिया बैंकको साख मूल्यांकन आर्थिक वर्ष २०८०/८१ मा फिर्ता गरिएको र त्यसपछि मूल्यांकन उपलब्ध नरहेको विवरणमा उल्लेख छ। माछापुच्छ्रे बैंकको पनि केही वर्ष मूल्यांकन उपलब्ध नभए पनि आर्थिक वर्ष २०८२/८३ मा ‘बीबीबी प्लस’ नकारात्मक निगरानीमा रहेको छ।

प्रभु बैंकको साख मूल्यांकन ‘बीबीबी’बाट घट्दै ‘बीबी प्लस’ नकारात्मक निगरानीमा पुगेको छ। सानिमा बैंकको मूल्यांकन ‘ए’बाट ‘ए माइनस’मा झरेपछि आर्थिक वर्ष २०८२/८३ मा मूल्यांकन फिर्ता गरिएको छ।

सिद्धार्थ बैंकले पछिल्ला वर्षमा ‘बीबीबी प्लस’ मूल्यांकन कायम राखेको छ। केही वर्ष उक्त मूल्यांकन नकारात्मक निगरानीमा रहे पनि २०८२र८३ मा ‘बीबीबी प्लस’ नै कायम भएको छ।

हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकको भने आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म इक्रा नेपालको साख मूल्यांकन उपलब्ध छैन।

इक्रा नेपालका अनुसार ‘२’ चिन्हले नकारात्मक प्रभावसहित निगरानीमा रहेको साख मूल्यांकन जनाउँछ भने ‘७’ ले अनिश्चित अवस्थालाई जनाउँछ। निगरानीको अवस्थाले बैंकको भविष्यको साख तथा ऋण तिर्ने क्षमतासम्बन्धी सम्भावित दबाब वा अनिश्चितताको संकेत गर्ने इक्रा नेपालले जनाएको छ।

मंगलबार, २६ साउन २०८३, ११ : ४६

प्रतिक्रिया