काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्ववजनिक गरेको छ ।
राष्ट्र बैंकले उक्त घटनापछि बैंकको सञ्चालन तथा व्यवस्थापन अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। साथै, विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय तथा सुझाव लिने र सम्बन्धित पक्षसँग छलफल गर्ने काम भइरहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकका अनुसार, हाल बैंकको तरलता अवस्था तथा अन्य वित्तीय सबलताका सूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेका छन्। त्यसैले बैंकको दैनिक कार्य सञ्चालनमा कुनै प्रकारको जटिलता उत्पन्न हुने अवस्था नरहेको राष्ट्र बैंकको प्रष्टोक्ति छ।
बैंकका सञ्चालक तथा सीईओविरुद्धको मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकाले यस विषयमा तत्काल कुनै निष्कर्षमा पुग्नुभन्दा मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका साथै बैंकको दैनिक सञ्चालन अवस्थालाई समेत आधार बनाएर थप अध्ययन गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार कानुनी रायसमेत लिएर प्रचलित कानुनबमोजिम बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा समग्र बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने जानकारी दिएको छ।
प्रतिक्रिया