जलविद्युत कम्पनी

हाइड्रोपावर कम्पनीको नाफामा ठूलो उछाल, एक वर्षमै कसले कति कमाए ?

शुक्रबार, २९ साउन २०८३, १० : ३८

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म सूचीकृत जलविद्युत् कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४९ वटा सूचीकृत हाइड्रोपावर कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार जलविद्युत् कम्पनीहरूको कुल खुद नाफा ८ अर्ब ६ करोड ९८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूको कुल नाफा ३ अर्ब ८९ करोड ११ लाख रुपैयाँ थियो। यस आधारमा एक वर्षमा जलविद्युत् कम्पनीहरूको समग्र नाफा १०७.४ प्रतिशतले बढेको हो।

नाफामा आएको सुधारसँगै विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ। ४९ कम्पनीको विद्युत् बिक्रीबाट हुने कुल आम्दानी अघिल्लो वर्षको २३ अर्ब १६ करोड ८२ लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा २७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पुगेको छ। यसमा करिब ४ अर्ब २३ करोड ९९ लाख रुपैयाँको वृद्धि भएको छ।

विद्युत् उत्पादन बढ्नु, आयोजनाहरू पूर्ण क्षमतामा सञ्चालन हुनु, जलप्रवाह अनुकूल रहनु तथा नयाँ आयोजनाबाट विद्युत् उत्पादन थपिनुका कारण आम्दानीमा वृद्धि भएको देखिन्छ। त्यस्तै, कतिपय कम्पनीको वित्तीय खर्च घट्दा आम्दानीको ठूलो हिस्सा नाफामा परिणत भएको छ।

नाफाको आधारमा साहस ऊर्जा सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको नाफा ८९ करोड ५१ लाख रुपैयाँ थियो। यसअनुसार साहस ऊर्जाको नाफा करिब ५२ प्रतिशतले बढेको हो।

दोस्रो स्थानमा रहेको सोलु हाइड्रोपावरले १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको नाफा ८३ करोड २३ लाख रुपैयाँ थियो। त्यस्तै, माउन्टेन इनर्जी नेपालले ७९ करोड ७० लाख, चिलिमे हाइड्रोपावरले ७२ करोड १ लाख र सानिमा मिडिल तमोरले ६२ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

त्यसैगरी ग्रिन भेन्चर्सले ४४ करोड ४७ लाख, सुपर मादी हाइड्रोपावरले ४२ करोड ६० लाख, माण्डु हाइड्रोपावरले ३१ करोड ८६ लाख, सानिमा माई हाइड्रोपावरले २९ करोड ३५ लाख र सानिगाड हाइड्रोले २६ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन्।

माण्डु हाइड्रोपावरको नाफामा सबैभन्दा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो वर्ष ६ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको नाफा गत आर्थिक वर्षमा बढेर ३१ करोड ८६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, श्वेतगंगा हाइड्रोपावरको नाफा १७ लाख ९९ हजार रुपैयाँबाट बढेर १७ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

सुपर मादी हाइड्रोपावरको नाफा पनि ११ करोड २८ लाख रुपैयाँबाट बढेर ४२ करोड ६० लाख रुपैयाँ पुगेको छ। सानिगाड हाइड्रोको नाफा ५ करोड ४२ लाख रुपैयाँबाट बढेर २६ करोड ५९ लाख रुपैयाँ पुगेको छ। माथिल्लो मेलुन खोला जलविद्युत्, भिजन लुम्बिनी ऊर्जा, पाँचथर पावर, पञ्चकन्या माई, सान्जेन, न्यादी, माया खोला, माणकामना इन्जिनियरिङ, छ्याङ्दी, बुद्धभूमिलगायत कम्पनी पनि अघिल्लो वर्षको तुलनामा सुधारिएको नाफा अवस्थामा पुगेका छन्।

विशेषगरी अघिल्लो वर्ष घाटामा रहेका केही कम्पनीले गत आर्थिक वर्षमा नाफा कमाउन सफल भएका छन्। सान्जेन जलविद्युत् कम्पनी अघिल्लो वर्ष २७ करोड ८९ लाख रुपैयाँ घाटामा रहेकोमा गत आर्थिक वर्षमा ८ करोड २० लाख रुपैयाँ नाफामा फर्किएको छ। भिजन लुम्बिनी ऊर्जा कम्पनी १० करोड ६ लाख रुपैयाँ घाटाबाट ९ करोड ५ लाख रुपैयाँ नाफामा पुगेको छ।

त्यस्तै, पाँचथर पावर ६ करोड १७ लाख रुपैयाँ घाटाबाट ८ करोड ५२ लाख रुपैयाँ नाफामा पुगेको छ। पञ्चकन्या माई हाइड्रोपावर ६ करोड ८६ लाख रुपैयाँ घाटाबाट ६ करोड ६८ लाख रुपैयाँ नाफामा फर्किएको छ। माया खोला हाइड्रोपावर पनि ६ करोड ३६ लाख रुपैयाँ घाटाबाट १ करोड ५९ लाख रुपैयाँ नाफामा पुगेको छ।

यद्यपि सबै जलविद्युत् कम्पनीको वित्तीय अवस्था सुधारिएको भने छैन। ४९ कम्पनीमध्ये ४१ कम्पनी नाफामा रहे पनि ८ कम्पनी अझै घाटामा छन्। शिवश्री हाइड्रोपावरले सबैभन्दा धेरै ११ करोड ९१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। त्यस्तै, याम्बालिङ हाइड्रोपावर ५ करोड ३३ लाख, बुङ्गल हाइड्रो ३ करोड १९ लाख, अपर लोहोर खोला हाइड्रोपावर २ करोड ९० लाख, खानी खोला हाइड्रोपावर २ करोड ८० लाख, भुजुङ हाइड्रोपावर २ करोड ६० लाख, अपोलो हाइड्रोपावर १ करोड ९४ लाख र भोगोल इनर्जी डेभलपमेन्ट ९२ लाख रुपैयाँ घाटामा छन्।

विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि साहस ऊर्जा नै अगाडि छ। कम्पनीले गत आर्थिक वर्षमा विद्युत् बिक्रीबाट २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ। सोलु हाइड्रोपावरले २ अर्ब ६२ करोड ९२ लाख र सानिमा मिडिल तमोरले २ अर्ब २ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेका छन्।

त्यस्तै, सान्जेन जलविद्युत् कम्पनीले १ अर्ब ६४ करोड १६ लाख, माउन्टेन इनर्जीले १ अर्ब ५३ करोड ३५ लाख र ग्रिन भेन्चर्सले १ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ विद्युत् बिक्री आम्दानी गरेका छन्। सुपर मादीले १ अर्ब ३३ करोड ४३ लाख, चिलिमेले १ अर्ब १६ करोड ७६ लाख र सानिगाड हाइड्रोले १ अर्ब ११ करोड ६ लाख रुपैयाँ आम्दानी गरेका छन्।

आम्दानीमा पनि अधिकांश कम्पनीले सुधार गरेका छन्। यद्यपि ग्रिन भेन्चर्स, सानिमा माई, प्योर इनर्जी र सगरमाथा जलविद्युत्लगायत केही कम्पनीको विद्युत् बिक्री आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको छ। यसको अर्थ सबै कम्पनीको उत्पादन र बिक्रीमा समान वृद्धि नभए पनि समग्र क्षेत्रमा सुधारको अवस्था देखिएको हो।

विश्लेषकहरूका अनुसार गत वर्ष जलविद्युत् आयोजनाहरूमा पानीको उपलब्धता तुलनात्मक रूपमा राम्रो हुनु, उत्पादन क्षमता बढ्नु, विद्युत् बिक्री विस्तार हुनु तथा वित्तीय लागत घट्नुले कम्पनीहरूको नाफा बढाउन मुख्य भूमिका खेलेको छ। पछिल्ला वर्षमा निर्माण सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु गरेका आयोजनाको योगदानसमेत वित्तीय विवरणमा देखिन थालेपछि जलविद्युत् क्षेत्रको समग्र आम्दानी र नाफा बढेको हो।

समग्रमा ४९ जलविद्युत् कम्पनीको नाफा एक वर्षमै दोब्बरभन्दा बढी हुनु र विद्युत् बिक्री आम्दानीमा समेत करिब १८ प्रतिशतको वृद्धि हुनु ऊर्जा क्षेत्रमा भइरहेको उत्पादन विस्तारको सकारात्मक संकेतका रूपमा देखिएको छ। यद्यपि केही कम्पनी अझै घाटामा रहेकाले आयोजनाको उत्पादन क्षमता, ऋणको भार, ब्याज खर्च र सञ्चालन लागतका आधारमा कम्पनीहरूको वित्तीय अवस्था फरक–फरक रहेको वित्तीय विवरणले देखाएको छ।

शुक्रबार, २९ साउन २०८३, १० : ३८

प्रतिक्रिया