बैंकिङ कारोबार

माछापुच्छ्रे बैंकले कमायो २ अर्ब ११ करोड, खराब कर्जा भने ४ प्रतिशत नजिक

शुक्रबार, २९ साउन २०८३, ११ : ३१

काठमाडौं- माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८८ करोड रुपैयाँको तुलनामा १२.२३ प्रतिशतले बढी हो।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन र सञ्चालन आम्दानीमा भएको सुधारको योगदान देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६ अर्ब ७ करोड रुपैयाँ थियो। कुल सञ्चालन आम्दानी ८ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

बैंकको कर्जा लगानी पनि बढेको छ। चौथो त्रैमाससम्म कुल कर्जा तथा सापटी १ खर्ब ६३ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ४१ अर्ब ४३ करोड रुपैयाँ थियो।

त्यस्तै, बैंकको कुल निक्षेप २ खर्ब २० अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ रहेको निक्षेप एक वर्षमा करिब ३६ अर्ब रुपैयाँले बढेको हो।

यद्यपि, बैंकको खराब कर्जा अनुपात ३.९८ प्रतिशत रहेको छ। यसले कर्जा असुली तथा जोखिम व्यवस्थापनमा बैंकमाथि अझै दबाब रहेको देखाउँछ। बैंकको कोषको लागत ७.७५ प्रतिशत र नेट ब्याज स्प्रेड ३.४८ प्रतिशत रहेको छ।

बैंकको वितरणयोग्य नाफा ९८ करोड ६७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ७.५१ रुपैयाँ छ। त्यस्तै, प्रतिसेयर आम्दानी १७.४९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १५.५९ रुपैयाँ थियो।

बैंकको चुक्ता पुँजी १५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। पुँजी पर्याप्तता अनुपात १३.९८ प्रतिशत, सीईटी–१ अनुपात १०.०४ प्रतिशत र इक्विटीमा प्रतिफल (आरओई) १०.३६ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।

शुक्रबार, २९ साउन २०८३, ११ : ३१

प्रतिक्रिया