काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन विकासका लागि वार्षिक २०–३० लाख पर्यटक भित्र्याउने लक्ष्यमा मात्र सीमित नभई १ करोड पर्यटक भित्र्याउने बृहत् योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्यालले पर्यटन उद्योगको पुनरुत्थानसँगै तीव्र विकासका लागि ठूलो सोच र स्पष्ट योजना आवश्यक रहेको बताए।
विश्व पर्यटन बजारमा प्रविधिको तीव्र विकास र पर्यटकको बदलिँदो चाहनाअनुसार नेपालले आफूलाई परिमार्जन गर्नुपर्ने उनको भनाइ छ। विगतका कमजोरीका कारण पर्यटक अन्य गन्तव्यतर्फ आकर्षित भएको उल्लेख गर्दै उनले पर्यटक आगमन बढाउन ट्राभल एजेन्टहरूको भूमिका महत्वपूर्ण हुने बताए।
अर्यालले पर्यटन क्षेत्रमा रहेका आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थ त्यागेर व्यवसायीहरू सामूहिक हितका लागि अघि बढ्नुपर्नेमा जोड दिए।
पर्यटन पूर्वाधारतर्फ उनले व्यवस्थित ‘टुरिस्ट बस पार्क’ निर्माणको आवश्यकता औँल्याए। हवाई यात्राका लागि विमानस्थल तोकिएजस्तै पर्यटकीय सवारीसाधनका लागि पनि छुट्टै व्यवस्थित बस पार्क हुनुपर्ने उनको तर्क छ।
निर्माणाधीन पर्यटन विधेयकबारे सभामुख अर्यालले आगामी ५० वर्षको आवश्यकतालाई सम्बोधन गर्नेगरी बलियो कानून निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया